• २३ कात्तिक २०८१, शुक्रबार

यात्राको साथी ! [निबन्ध]

blog

तपाईं साइत, दिशा जुराएर कतै पैदलयात्रामा निस्कँदै हुनुहुन्छ भने सकभर दुईखुट्टे दोस्रो प्राणी साथ नलिनु बेस । यदि बेस काम नभए पनि गरेरै छोड्छु भन्नुहुन्छ या तपाईं साथीबेगर घरबाट निस्कनै सक्नुहुन्न भने आफैँलाई साथ लिएर निस्कनुहोला । यो नै तपाईंका लागि उत्तम उपाय हो । किन त भन्दा आफ्ना लागि आफूबाहेक दोस्रो हितैषी साथी अरू कोही हुनै सक्तैन । आफूलाई फेदटुप्पा राम्रोसँग चिन्ने, राम्रो नराम्रो आनीबानी खुट्याउने र गुणदोष छुट्याउन सक्ने आफैँ हो । आफ्ना छुल्याइँ, बिजाइँ, बिठ्याइँ र ठगी, ढाँटछलबारे पनि ओठ नटोकी, जिब्रो नचपाई एक÷एक गरी प्रश्न सोध्न, पुछ्न सक्ने प्रश्नकर्ता पनि आफैँ हो । भित्री, बाहिरी, कमीकमजोरीका कुरा केलाउँदै निफन्दै हाकाहाकी मुख फोरेर दच्काउन सक्ने, अरू मानिस पाउन पनि त गाह्रो छ नि, हैन र ? मरमुलाहिजाको संसारमा हक्की, इन्साफी मित्र पाउन पनि सजिलो छैन, त्यसैले हुँदाछँदाको सजिलो काम छोडेर नभएको अर्को गाह्रो कामतिर लाग्नु गतिलो ताल मानिँदैन भन्दा अगतिलो बात गरेको खतबात अवश्य लाग्ने छैन । यदि लागिहालेछ भने पनि भर्सेलै परोस् भनेर पश्चात्ताप याने कि शोकसभा नै पनि गर्न सक्नुहुन्छ । 

पुर्खाको रस्तीबस्ती, चालचलन र जीवनवृत्तसमेत खुरुन्धार गरेर खोज्नुभयो भने के के कुरा पत्ता लाग्छ । पहिलो कुरा त पाषाण युगदेखि यस युगको अन्त्यसम्म तपाईं एक्लै बाँच्नमा समर्थवान् भइसक्नुभएको थाहा लाग्छ । त्यसैले समर्थवान्ले असमर्थ ताल देखाउनु भनेको पराश्रयी लुइताने चाल हो भन्ने सिधै अर्थ लाग्न सक्छ । नसके सक्तैन, त्यसको खातिरदारी गरिरहनु पनि मनासिब मानिँदैन । हिँड्दा साइत कुसाइत जेजसो परे पनि यात्रा गर्दा बाटोमा तपाईं बोल्नु पनि हुन्छ होला । सधैँ एकनास घोरिएर बिताउने मौनव्रती बाबाजी नै त हैन नि तपाईं, अनि कसरी सधैँ चुपो लागेर बस्नु अनि चुपै लागेर पो के हिँडिरहनु हैन र ? यदि त्यसो हो नै भने आफैँलाई साथी बनाउँदा स्वागत कथनको शैलीमा कुराका प्रसङ्ग फेरि फेरि बोल्दै हिँड्दा जुन मजा आउँछ आफ्नै वाणिविन्यासमा जे जति आनन्द आउँछ त्यो अन्त कहाँ पाउनु हैन र ? स्केल राखेर नापजाँच गर्दा वा मानापाथीमा भर्दा त्यसको परिमाण कति होला भन्ने पनि कसरी अन्दाज गर्नु खोइ ? विरेचित याने फ्लस नभएर आफूभित्र जमठ बनेका, कुनै उकुच पल्टिएका र कुनै ओथारो बसेर बेकामे भइसकेका कुरा अरू मानिससँग गर्दा अवश्य भाँती नमिल्न सक्छ या मिल्दैमिल्दैन पनि होला । अरूले तपाईंका मनका कुरा सबै पचाउँछन् या मन पराउँछन् वा सहिरहन्छन् भन्ने पनि छैन । बेलाकुबेला आफ्ना कुरा छाँट्ने र अरूका कुरा काट्ने कर्म गरिरहँदा कुरै कुराको फजितीले आजित बनाएर बिचबाटैमा मुक्का घुस्सा पनि चल्न सक्छन् । नसके सक्तैनन् त्यसको खातिरदारी गर्नु पनि मनासिब मानिँदैन । अर्कोतिर कुरा कोट्याउँदा के थाहा लाग्छ भने जुन कुरा अरूसँग बोल्न मिल्दैन ती कुरा आफैँसँग खुलेर गर्न सकिन्छ । समुद्री जीव अक्टोपस जस्तै कुरामा पनि त प्रसङ्ग अनुसार छेउ, टुप्पो, फेद, जराको लहरा नै जेलिएको भेटिन्छ । यसका कारण के हो त भन्दा आफैँसँग गर्ने कुरामा विधि र निषेध अनि उपेक्षा र अपेक्षा पनि रहँदैन । आफैँले अपेक्षा गरे अनुसार खुराफाती काम कुरा पूरा गर्ने र होची अर्घेलीको औसर पनि रहँदैन । औकात र स्तरको साँधसिमाना पनि चाहिँदैन । कहिलेकाहीँ यसो मन बरालियो भने एक्लै हिँड्दा बल्ल त्यसको उपचार भेट्नुहुन्छ । बरालिएको मनकै परमादेशमा तपाईं मनपर्दी ढङ्गले छाडा बोल्न पनि फ्री हुनुहुन्छ । अभिसारको ओछ्यानदेखि रछ्यानसम्म सबतिर छामछुम पार्न सक्नुहुन्छ । त्यसो गर्दा होचीअर्घेलीको बातकसुर लाग्ने छैन । यदि मन चिलायो भने लुतो घाउखटिरा के हो आफैँ पहिचान गर्न सक्नुहुन्छ । हिँड्दाहिँड्दै काम कर्तव्य र घरव्यवहारको सम्झनाले हावाहुरी चलाउँदा मन छिरलियो भने आफैँ समेटेर बिस्कुन लगाउन र चिसो भए पाँजा पारेर सुकाउन सक्नुहुन्छ । अरू कसैले चोरदेला लामो हात गर्ला भन्ने ताप रहँदैन । तापै नरहेपछि मतापसँग काम गर्दा पनि के फरक पर्‍यो र ? 

अनि फेरि उही कुरा । यदि तपाईं पैदलयात्रामा चल्नुभएको छ भने लुगा त अवश्य लगाएको हुनु पर्छ । भोटो, कछाड, लुङ्गी, गम्छा, ट्र्याकसुट, दोचा, जामा, पाइजामा, दौरासुरुवाल, प्यान्टसर्ट आदि जे जस्तोसुकै भए पनि लुगा नै त हुन् ती सबै । पुरुष वर्गमा नपरेकाले पेटिकोट लगाएर त अवश्य हिँड्नुहुन्न होला । कस्तो रङ वा विविध रङको लगाउनुभएको छ त्यो चिन्न पनि आफैँलाई सजिलो पर्छ । गग, ह्याट, टोपी, जुत्तामोजाको सस्तो, महँगो, दाने, जडौरी के कस्तो स्थिति, स्तर र अवस्था हो अरू कसैले चासो दिँदैन । बरु बारम्बार आफैँलाई चिट गर्छ लवाइले । जुत्ता पर्वतारोहीले प्रयोग गर्ने अलि दामी खालका हुन् कि सस्ता सुलभ हुन् मोजा सुलभ शौचालयकै मितज्यु बनेर गनाउँछन् कि नै ? कस्तो सेन्ट शरीरमा छर्किएर 

हिँड्नुहुन्छ ? पसिनाले लतपत हुँदा जिउ श्रीखण्ड कि पतेरो बिर्साउने कायामा परिणत हुन्छ । कि त भने गन्धमादन पर्वतमा परिणत हुन्छ होला । हुन त गन्धमादन पर्वतका कुरा गर्दा उत्तरापन्थको मानसरोवर पुगेर कैलाश पर्वतको फेदीमा विश्राम लिन सक्नुहुन्छ तर हिमाली जाडो तुसारो र शीतको डरले त्यता नलाग्दा पनि फरक पर्दैन । यात्रा चारधामकै हो भने त झन् खासा । तीर्थयात्राका क्रममा दक्षिण भारत रामेश्वरम् किनारको हनुमान दादाले लङ्कातर्फ जम्प हानेको गन्धमादन पर्वत पुग्न पनि असम्भव छैन । 

बर्खायामको राजमार्गमा एक्लै यात्रा गर्दै हुनुहुन्छ भने तपाईं सग्लो साबुत बासस्थान पुग्न पनि सजिलै छ । त्यतिबेला सडक किनारका होटेल लजमा दिउँसै बास बस्न पनि सक्नुहुन्छ । निराजुको मुलुक न भएकाले जहाँ पुग्दा पनि मनका राजारानी मात्र भेट्नुहुन्छ । कतै नजरले पछ्याए मात्र भने पनि बस छोडेर खुत्रुक्क झर्‍यो फुत्त भित्र छिर्‍यो कसको अनि केको फिक्री । ठाउँठहर अनुसार मिल्दो साथी आफैँ साथमा नभए त्यहाँ पाइने खासा मेजमानी भेट्न गाह्रै पथ्र्यो नि । हतार गर्नु पर्दैन । आधा दिनदेखि रातैभर पनि त्यहीँ रिल्याक्स गरेर बास बस्न सक्नुहुन्छ, नभए दुई/चार घडीपलाको बसीबियाँलोपछि अर्को बस चढेर बाटा लाग्न पनि सक्नुहुन्छ । कि त रातैभर बस छोडेर पैदलयात्रा गर्दै बासै नबस्न पनि सक्नुहुन्छ । बास नपरे नपथ्र्यो त्यसको पनि वास्ता न गर्दा हुन्छ ।

भिरको बाटो हिँड्न मन लागे मनकै आदेशमा छारतोस कसेर दौडिदिनुहुन्छ । समथर छोडेर ओरालो बाटो लाग्न मन लागे छेउ किनारका बुटा पोथ्रा समातेर खुरमुरिन सक्नुहुन्छ । काँडा झाडी पन्छाउँदै हातखुट्टा नचाएर जम्बु मन्त्रीको पाराले गुटमुटिन पनि सक्नुहुन्छ । कोशी गण्डकीको किनारमा यात्रा गर्दै हुनुहुन्छ भने बाढीले भरिपूर्ण भरिएको नदीको बहाडिलो बेगले तपाईंलाई आफ्नो विशाल काखभित्रै लुकाउन सक्छ । एक्लै नदीतिर जान मन लागे बसबाट साटसुट्ट झरेर किनारको चट्टानी ढुङ्गामा मजाले जोखाना हेर्न र सेल्फी लिन सक्नुहुन्छ । 

अहिलेका बस त आफैँ तपाईंलाई सग्लै लिएर गङ्गाजीको दर्शन गर्न पनि जान्छन् । कतिपय अवसरमा त गङ्गास्नानका लागि आफूले रहर गर्नु पनि पर्दैन । पहिरोमा लडीबुडी खेल्दै आउने चट्टानी ढुङ्गा र बसकै संयुक्त प्रयासबाट उपलब्ध हुने गङ्गास्नानको सुवर्ण अवसरको भरपुर आनन्द लुट्न सक्नुहुने छ । आफैँले छुट्टै अवसर लिएर पनि कवयित्री सल्भिया प्लाथलाई सम्झिँदै झ्याम्मै हामफाल्ने सनक चढे पनि नौलो मानिँदैन । बरु गतिलै प्रतियोगिताको विजेता बन्दै यो अनित्य संसारबाट भाँचो हानेर स्वयम्लाई अमरता दिनुहुन्छ । यो अनित्य संसारमा मृत्यु समस्या नभएर मान्छे आफैँ आफ्नो समस्या हो भन्ने हाइडेगरको उपदेश सुनी बुझिसकेपछि तपाईंको एकल यात्रा सुदीर्घ परलोक यात्रा भए पनि केही फरक पर्ने छैन । बस ।

Author

नरेन्द्रराज पौडेल