• १० मंसिर २०८१, सोमबार

विपतका सारथि

blog

मुलुकमा विपत् आउनेबित्तिकै विमल पन्तलाई आपत्मा परेकाको उद्धार, खाना तथा कपडाको चिन्ता लाग्छ । तत्कालै सम्बन्धित ठाउँमा खाना र कपडा लिएर पुगिहाल्नुहुन्छ उहाँ । भूकम्पको बेला होस् वा कोभिड महामारी, घरबारविहीन भएका र खान नपाएकालाई भात बाँड्ने पात्र हुन् विमल पन्त र उहाँको समूह । उहाँको समूह हो ‘हाम्रो टिम नेपाल’ । हाम्रो टिम नेपालमा उहाँकी पत्नी कविता पौडेलको पनि उत्तिकै योगदान छ । साथमा उमेश बोहोरा, एलएस धामी, साजन श्रेष्ठलगायतका धेरै नव युवा समाजसेवी पनि ज्यानै दिएर समाजसेवामा होमिनुभएको छ । बिहान सबेरैदेखि राति अबेरसम्म थकाई, भोक, निन्द्रा, आफ्ना अन्य काम केही नभनी उहाँहरू निरन्तर विपत्मा परेकालाई खाना खुवाउने र कपडा उपलब्ध गराउने गर्नुहुन्छ । 

पछिल्लो समय बाढीका कारण काठमाडौँसहित पृथ्वी राजमार्ग, कान्ति लोकपथ र बिपी राजमार्गमा पनि हजारौँ यात्रु बाटोमै अलपत्र परे । उनीहरूले खान नपाएको थाहा पाएर हाम्रो टिम नेपालको टोली खाना र कपडा लिएर ती ठाउँमा पुगेको छ । गत चार दिनदेखि नै काठमाडौँको बल्खुमा बिहान/साँझ सयौँ मान्छेलाई निःशुल्क खाना खुवाएका छन् भने कान्ति लोकपथ, पृथ्वी राजमार्ग र बिपी राजमार्गमा अलपत्र परेका सयौँ व्यक्तिलाई समूहले दैनिक बिहान साँझ खाना खुवाएका छन् । कतिपय ठाउँमा सुक्खा खाना उपलब्ध गराइएको छ भने कतिपयलाई लत्ता कपडा पनि वितरण गरिएको छ । 

वर्षा सुरु भएको दिन विमल सिकिस्त बिरामी हुनुहुन्थ्यो । घरमै सुतिरहेका बेला सञ्चार माध्यम र सामाजिक सञ्जालबाट हजारौँ मान्छे बिचल्लीमा परेको, खान नपाएको र कपडाको अभाव भएको समाचार र भिडियो देख्नुभयो । त्यो देखेपछि सामाजिक सञ्जालमा लेख्नुभयो, ‘सहयोग गर्ने मन हुँदाहुँदै पनि अस्वस्थताले सकिरहेको छैन ।’ समाचार र भिडियो अझै दर्दनाक आउन थालेपछि भने उहाँको मन थामिन सकेन । त्यसपछि विमललाई आफ्नो रोगभन्दा पीडितको विचल्ली ठुलो लाग्यो । जुरुक्क उठेर आफूले व्यवसायका लागि पानी, ढुवानी गर्ने गाडी लिएर विपत्तिमा परेकालाई खाना, पकाउने भाँडा र केही लत्ता कपडा लिएर घटनास्थलहरूतर्फ होमिनुभयो । 

पीडितको अवस्था देखेपछि विमलले आफू बिरामी भएको बिर्सिनुभयो । केही हप्ताअगाडि दुर्घटनामा परी हात खुट्टामा लागेको चोट भुल्नुभयो । ज्यान फालेर पीडितको सेवामा लागिहाल्नुभयो । उहाँको समूहले अहिले अलपत्र परेकालाई उद्धार गर्न हार गुहार गरेर पाँच वटा गाडी निःशुल्क परिचालन गरेको छ । 

यो समाचार लेख्दै गर्दा पनि उनी बिपी राजमार्ग अन्तर्गतका सडकमा अलपत्र परेका सयौँलाई खाना पकाउँदै खुवाउँदै छ समूह । उहाँका अनुसार गत मङ्गलबार पनि पाँच ठाउँमा हजारौँलाई निःशुल्क खाना खुवाइएको थियो । सेवा गर्ने क्रममा उनले कति जनालाई खुवाइयो, के के खुवाइयो भनेर हिसाबकिताब राखिन्न । समूहले पीडितलाई सहयोग गरिन्छ, सहयोगी र दाताले दिएका सामग्री वितरण गरिदिन्छ । आफ्नो स्रोतसाधन, मेहनत र समय सबै लगाउनुहुन्छ विमल पनि । आफू सकिनसकी पीडितको सेवामा लागिरहेका बेला घटनास्थलका व्यापारीले अत्यावश्यक सामग्रीको मूल्य पनि अचाक्ली बढाएकोमा भने उहाँ आक्रोशित हुनुहुन्छ । उहाँले विपत्मा परेकालाई ठग्नेका विरुद्ध सामाजिक सञ्जालमार्फत खेद व्यक्त गर्दै खबरदारीसमेत गर्नुहुन्छ । उहाँका अनुसार विपत्का बेला बिरामी, वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने गरेको छ । सहयोगको खाँचो पनि उनीहरूलाई नै पर्छ । 

उनीहरूलाई यो काम गर्न सुरुमा आफैँ मनले होमेको हो । त्यसपछि सहयोगी हातहरू जोडिँदै आए । उनीहरूलाई पृष्ठभूमिमा रहेर सबैभन्दा बढी सहयोग गर्ने बेलायत निवासी ईसा गुरुङ हुनुहुन्छ भने अरू हजारौँ सहयोगीको तन मन र धनको सङ्गम हाम्रो टिम नेपाल बनेको अध्यक्ष विमल पन्त बताउनुहुन्छ । 

सस्तो प्रचारबाजी र मिडियाबाजी गर्ने उहाँको चलन छैन । त्यसैले राष्ट्रिय स्तरमा चर्चा र ठुला सम्मान तथा पुरस्कारले उहाँलाई देखेका छैनन् । उहाँको काम नियाल्नेहरूले मुक्तकण्ठले प्रशंसा नगरिरहन सक्दैनन् । उहाँको कामलाई नजिकबाट नियालिरहेकी कामना प्रसार्इं भन्नुहुन्छ, “हाम्रो टिम नेपालका भाइलाई सलुट छ, विमल पन्तलगायतका भाइ, हजुरहरूको महान् मनलाई हार्दिक सम्मान छ । 

आफ्नो ख्याल नगरी सबैलाई सेवा दिनुहुन्छ, तपाईंहरूको कामको मूल्याङ्कन गरेर कुनै शब्दमा भन्न सक्दिनँ ।” उहाँहरूको लगाव, सक्रियता, लगानी, अठोट सबै हेर्दा आममान्छेबाट यो सम्भव हुँदैन तर उहाँले आममान्छे नै भएर पनि धेरै धनीले गर्न नसकेका काम वर्षौंदेखि निरन्तर गर्दै आउनुभएको छ । उहाँलाई सामाजिक काममा होमिन सबैभन्दा बढी साथ जीवन सङ्गिनी कविताकै हुन्छ । छोराछोरीलाई घरमा सम्हालेर विमललाई सामाजिक काममा पठाउने काम पत्नीबाटै भएको छ । दुई छोराछोरीकी आमा कविताले पतिको सामाजिक कामप्रति उत्तिकै गौरव पनि गर्नुहुन्छ । 

विमल सामाजिक काममा खटिएकै बेला उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘खै के प्रशंसा गरौँ हजुरको प्यारा सन्चो नहुँदा पनि ती हातहरू सेवाका लागि सधैँ अघि बढिरहे । आफ्नो भन्दा पनि अरूको दुःख देख्ने हजुरको बानीले होला ती खुट्टा कहिल्यै थाकेनन् । भनिन्छ नि सेवा रगतमा हुन्छ, हो त्यो रगत हजुरसँग छ । आशा छ, श्री पशुपतिनाथले हजुरको इच्छाशक्तिलाई अझै प्रगाढ बनाइदिनु हुन्छ ।’

विमलले पनि आफ्नी श्रीमतीको साथ सहयोग समर्थन र हौसला नै आफ्नो प्रेरणाको मूल स्रोत भएको बताउनहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरी श्रीमतीसँगै हाम्रो टिम नेपाल र सय ग्रुपका सहयात्री भाइबहिनीहरू र मनकारी सहयोगी सबैप्रति म सधैँ ऋणी छु, दुःखी पीडितलाई सहयोग गर्ने यहाँहरूको साथ, समर्थन र हौसला सधैँ पाइरहन सकुँ ।”

विमलले बाढी अगाडिसम्म जुम्लाका स्याउ बिक्री गराउने अभियान चलाउनुभएको थियो । काठमाडौँमा जुम्लाको स्याउ बिक्री नभएको, फेरि फिर्ता लानु परेको वा फाल्नु परेको खबर सुनेपछि उहाँले स्याउ विक्रेतालाई ढुवानीका लागि निःशुल्क गाडीको व्यवस्था गरिदिनुभयो अनि सामाजिक सञ्जालमार्फत जुम्लाको स्याउ किन्न काठमाडौँवासीलाई खान आह्वान नै गर्नुभयो । उहाँको आह्वानलाई धेरैले सकारात्मक रूपले लिएर धमाधम स्याउ किनिदिए भने त्यो अभियानमा कांग्रेस सांसद डा. चन्द्र भण्डारी, जुम्लाका सांसद ज्ञानेन्द्र शाहीलगायतले होस्टेमा हैँसे गरिदिनुभयो । 

अहिले काठमाडौँमा जुम्लाको स्याउ किन्ने लहर नै चलेको छ । कांग्रेस सांसद भण्डारीले जुम्लाको स्याउ काठमाडौँमा बिक्री गर्न निःशुल्क ढुवानीका साधन उपलब्ध गराएकोमा विमललाई धन्यवाद दिँदै आफैँले पनि ‘स्याउ स्वदेशकै खाउँ’ भन्ने आह्वान गर्नुभएको थियो । स्वदेशकै स्याउ खानु पर्छ भन्ने कुरा स्थापित गर्न सक्दा नेपालका किसानको आत्मसम्मान र आर्थिक अवस्थासँगै नेपालीको स्वास्थ्य र रोजगारीमा पनि सहयोग पुग्ने सांसद भण्डारीको भनाइ छ । सांसद भण्डारीले युवा समाजसेवी विमलको सेवाको भावना र सक्रियता अति नै प्रशंसनीय रहेको बताउनुहुन्छ । कुरा काटेर, बेरोजगार छु भनेर दिन बिताउने युवालाई विमलसँग सङ्गत गर्न पनि उहाँको सुझाव छ ।

विमलले यसअघि कोरोना महामारीको बेला काठमाडौँको टुँडिखेलमा दैनिक चार सय  जनालाई झन्डै दुई वर्ष खाना खुवाउने अभियानको नेतृत्व गर्नुभएको थियो । सामान्यतया सोच्न पनि नसकिने यति ठुलो कामका लागि उहाँले पनि कुनै योजना बनाएको होइन, केवल आँट मात्र गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, “राम्रो कामका लागि आँट गरेपछि भगवान्ले पुर्‍याउँदा रहेछन् ।” उहाँले जाडोको बेलामा कठ्याङ्ग्रिएकाहरूलाई र बाढी पहिरोमा परेकालाई खाद्य पदार्थ र लगाउने कपडा तथा ओड्ने ओछ्याउने कपडा पनि लगिदिने गर्नुभएको छ । सुरुमा सडकमा अलपत्र परेकालाई उद्धार गर्ने कार्यबाट सामाजिक सेवामा होमिनुभएका विमलले उनीहरूलाई उपचार गराउने, खुवाउने र कपडाको व्यवस्था गर्नुहुन्थ्यो । 

त्यही गर्दागर्दै ‘हुनेले नहुनेलाई दिने’ अवधारणाका साथ कपडा बैङ्क स्थापना गर्नुभयो । सुरुमा काठमाडौँको अनामनगरबाट सुरु भएको कपडा बैङ्क अनुकरणीय भएपछि अहिले स्वतःस्फूर्त रूपमा देशभरि नै धेरै ठाउँमा कपडा बैङ्क स्थापना गरिएका छन् भने अनामनगरमा अहिले पनि ठुलो कपडा बैङ्कको गोदाम रहेको छ । त्यहाँ अहिले पनि लगाउन मिल्ने र ओड्ने–ओछ्याउने कपडा जोसुकैले छानीछानी लैजान पाउँछन् । 

सामान्य मानिस पनि अठोट, इच्छाशक्ति र सेवाको भावना भयो भने कति असामान्य जस्तो लाग्ने काम पनि गर्न सक्छ भन्ने उदाहरण बन्नुभएको छ विमल । सुरुमा पानी कम्पनीमा कामदारका रूपमा केही दशक बिताएका विमलले अहिले खानेपानी ढुवानी र बिक्रीवितरणको सानो व्यवसाय गर्नुभएको छ तर पनि उहाँ आफूलाई कामदारकै रूपमा चिनाउन पाउँदा गौरवबोध गर्नुहुन्छ । पानी बोक्ने गाडी आज पनि आफैँ चलाउनुहुन्छ विमल । आफ्नो श्रमप्रति गौरव गर्ने स्वभाव र सामाजिक सेवाको भावनाकै कारण उहाँ आज हजारौँ दुःखी पीडितका दाता बन्नुभएको छ ।  

Author

जीवन भण्डारी