• १९ असोज २०८१, शनिबार

स्वास्थ्य सेवाका सूचक पालना गरेको आधारमा जलेश्वर नगरपालिका प्रथम

blog

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीवकुमार झा पालिकाका स्वास्थ्य संयोजकहरूलाई सम्मान गर्नुहुँदै ।

महोत्तरी समाचारदाता

महोत्तरी, असोज १७ गते । स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान तथा स्वास्थ्य क्षेत्रका सेवाका सूचकहरुहरुको पालनाको आधारमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकालाई प्रथम घोषणा गरिएको छ । 

स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा गरेको दुई दिवसीय समीक्षापश्चात् स्वास्थ्य सेवाका सूचकहरूको पालना गरेको आधारमा जलेश्वर नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा प्रथम घोषणा गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नबल किशोर साहले जिल्लाको विभिन्न पालिकाहरूमा देखिएको खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, महामारीजन्य रोग सम्बन्धी, सर्ने÷नसर्ने रोगहरू लगायतका लक्ष्य अनुसारको उपलब्धि हासिल गरेको कार्यहरूको आधारमा पालिकाहरूलाई प्रथम, दोस्रो तथा तेस्रो घोषणा गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको योजना, उद्देश्य तथा उपलब्धिसहितका सूचकहरूको आधारमा जलेश्वर नगरपालिका प्रथम स्थान, बर्दिबास नगरपालिका दोस्रो स्थान तथा मटिहानी नगरपालिकाले तेस्रो स्थान हासिल गरेको जानकारी दिनुभयो ।

उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको स्वास्थ्य सेवाहरूको वार्षिक समीक्षा (लेखाजोखा) पश्चात् यस्तो निर्णय गरिएको जानकारी दिनुहुँदै समीक्षा कार्यक्रममा विभिन्न पालिकाहरूमा स्वास्थ्य क्षेत्रमा कामकाज गर्दै आएका संघसंस्थाहरुको समेत सहभागिता रहेको बताउनुभयो ।

कार्यक्रममा विगतको आर्थिक वर्षमा महोत्तरी जिल्ला पूर्ण खोप घोषणा भएको, विगत वर्षको तुलनामा यस वर्ष सरुवा रोगमा कमी भएको तथा पालिकाहरूको स्वास्थ्य क्षेत्रमा देखिएको कमीकमजोरीहरू केलाउन सहयोग मिलेको स्वास्थ्य कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

समीक्षा कार्यक्रम समापनको अवसरमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशमा कर्मचारी समायोजन नभएकोले केही समस्या देखिएको बत्ताउनुहुँदै हामीहरू सो को प्रयासरत र प्रक्रियामा रहेको बताउनुभयो । हामीसँग कुनै जादुको छडी छैन तर पनि हामीलाई दिएको अधिकारको दायरामा रहेर समस्या समाधानको जोहो गर्न लागिरहेको मन्त्री सिंहले बताउनुभयो । उहाँले धेरै समस्याहरूको बाबजुद स्वास्थ्यकर्मीहरुले गरिरहेको योगदानको सराहना गर्नुहुँदै जनतालाई सेवा, सुविधाको क्षेत्रमा सबैको उत्तिकै सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो । 

औषधी वितरण, स्वास्थ्य बिमा लगायतका क्षेत्रहरूमा तपाई उठाउनुभएको समस्याहरू रहेको स्विकार्नुहुँदै मन्त्री सिंहले भन्नुभयो, ‘हामीहरू नीति निर्माणमा रहेकोले समस्या समाधानको प्रयास गरिरहेका छौँ, एक लाखको स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउने गरी गृहकार्य समेत भइरहेको छ ।’

कार्यक्रममा स्वास्थ्य निर्देशनालय सपही धनुषाका निर्देशक डा.राजीव कुमार झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखा प्रमुख डा. वर्षा प्रकाश सहित १५ वटै पालिकाका स्वास्थ्य संयोजकहरू, चौतारी नेपाल, वन हर्ट वर्ल्ड वाइड, युएसएआइडि, बागमती सेवा समाज, रतौली युवा क्लबलगायतका स्वास्थ्य क्षेत्रमा कामकाज गर्दै आएका सङ्घसंस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।