• ११ मंसिर २०८१, मङ्गलबार

सिमसार क्षेत्रका रूपमा विकास गरिँदै बाह्र बिघा पोखरी

blog

रुपन्देहीको सैनामैना–४, लेडुवामा रहेको बाह्र बिघा पोखरी ।

बुटवल समाचारदाता

बुटवल, असोज १७ गते  । रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गरिने भएको छ । पोखरीको क्षेत्रफल १२ बिघा रहेकाले यसको नाम नै ‘बाह्र बिघा पोखरी’ राखिएको छ । उक्त पोखरीमा बाह्रै महिना पानी हुने र चराचुरुङ्गीको समेत बासस्थान रहेकाले बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिए पर्यटकको गन्तव्यस्थल बनाउन सकिने विश्वास गरिएको छ । 

सैनामैना नगरपालिकाले उक्त पोखरी संरक्षण गरेर सैनामैनालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार सिमसार क्षेत्रको संरक्षणको पहल सुरु गरेको हो । बाह्र बिघा पोखरीलाई पर्यापर्यटनसँग जोड्ने गरी नगरपालिकाले बजेटसमेत विनियोजन गरी सफाइ अभियान सञ्चालन गरिसकेको छ । जैविक विविधतासँग सम्बन्धित त्यस्ता पोखरीलाई संरक्षण गरी पर्यावरणीय क्षेत्रको प्रवर्धनमा समेत टेवा पु¥याउन सकिने सैनामैना नगरपालिकाको भनाइ छ । डिभिजन वन कार्यालयले समेत बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिने औँल्याउँदै केही दिनअघि वृक्षारोपणसमेत गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिने हो भने यो स्थानलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने औँल्याउनुभयो । सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्माले यो पोखरी जैविक विविधताका हिसाबले पनि महŒवपूर्ण रहेकाले नगरपालिकाले संरक्षणको पहल सुरु गरेको बताउनुभयो । 

यस पोखरीको छेउमा सारसको बथान देख्न सकिन्छ भने अरू दर्जनौँ प्रकारका चराको बासस्थान क्षेत्रसमेत छ । नगरपालिकाले कृषि र सिँचाइका लागि मात्र नभई पोखरीलाई भविष्यमा पर्यापर्यटनसँंग जोड्ने गरी पोखरी संरक्षणको काम अघि बढाएको नगरप्रमुख शर्माको भनाइ छ । पोखरीमा स्थानीय जातका माछा पाइनुका साथै विकासे माछा राखेर गाउँलेले आम्दानीसमेत गर्दै आएका छन् । सैनामैना नगरपालिका–४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले यो पोखरी संरक्षण गर्ने हो भने सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिने बताउनुभयो ।