• ३ माघ २०८१, बिहिबार

चाडबाडलक्षित विशेष सुरक्षा परिचालन

blog

रवीन्द्र उप्रेती

बर्दीबास, असोज १७ गते । नजिकिँदो चाडबाडलाई लक्षित गरी महोत्तरीमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको महोत्तरी प्रशासनले जनाएको छ । दसैँसँगै तिहार लगत्तै छठ जस्ता प्रमुख पर्व नजिकिँदै गएकाले जिल्लाभर सुरक्षा सतर्कता बढाइएको प्रशासन कार्यालयले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले चाडपर्वलाई सुरक्षित, मर्यादित र सद्भावपूर्ण बनाउन चाडबाडलक्षित सुरक्षा योजना परिचालन गरिएको जानकारी दिनुभयो । पर्वको समयमा शान्ति सुव्यवस्था कायम गर्न अमन चयन खलबलिन सक्ने स्थानको पहिचान गरी ती ठाउँमा विशेष सुरक्षा परिचालनको व्यवस्था मिलाइएको न्यौपानेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विशेषतः दसैँको मेला लाग्ने, दुर्गा मन्दिर र मूर्ति भएका स्थानलाई सुरक्षाको विशेष निगरानीमा राखिएका छन् । विगतका घट्नाव्रmम, सामाजिक एवं धार्मिक स्वरूप र भौगोलिक अवस्थिति जस्ता विषयलाई विश्लेषण गरी सुरक्षा परिचालनको व्यवस्था मिलाइएको छ ।” चाडबाडको बेला सशस्त्र र नेपाल प्रहरीलाई सतर्क अवस्थामा राखिएको छ । जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीका सशस्त्र उपरीक्षक विनोद केसीले गाउँघरदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म गस्तीलगायतको सुरक्षा प्रवन्ध मिलाइएको बताउनुभयो । 

केसीले भन्नुभयो, “व्रmसबोर्डर अपराध नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग पनि समन्वय र सहमति भएको छ । घटस्थापनादेखि मूर्ति विसर्जनको अवधिसम्म सीमा नाकामा सूक्ष्म निगरानी, सूचना आदानप्रदानका साथै सुरक्षा जाँचलाई पनि तीव्रता दिइएको छ ।” चाडबाडलक्षित सुरक्षाका लागि गाउँबस्तीदेखि वन क्षेत्रसम्म १५ प्रकारको सुरक्षा परिचालनको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विशेष सुरक्षा योजनालाई जिल्ला सुरक्षा समितिको बैठकले पनि पारित गरिसकेकाले कार्यान्वयन तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक एवं सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले सादा पोसाकमा सुरक्षा परिचालन, यातायात सुरक्षा, आकस्मिक चेक जाँच, यात्रु सुविधाका लागि नागरिक सहायताकक्ष स्थापना, प्रमुख मार्गमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त गस्तीलगायतका व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रहरीले रात्रिकालीन यात्रु बसको सुरक्षालाई ध्यानमा राखेर वन क्षेत्रमा सुरक्षाको विशेष प्रवन्ध मिलाएको पनि जनाएको छ । 

पूर्वपश्चिम लोकमार्गकोे महोत्तरी खण्डमा करिब १७ किलोमिटर घना जङ्गल पर्छ । सुरक्षाको दुष्टिकोणले वन क्षेत्र संवेदनशील मानिन्छ । प्रहरीले रात्रिकालीन यात्रु बसको सुरक्षालाई ध्यानमा राखेर ती क्षेत्रमा सुरक्षाको विशेष प्रवन्ध मिलाएको जनाएको छ । पर्वको अवधिभर राजमार्गको वन क्षेत्रमा सघन गस्ती र आकस्मिक सुरक्षा चेकजाँचका साथै रात्री वसमा सादा पोसाकको प्रहरी परिचालनको व्यवस्था मिलाइएको जैसवारले बताउनुभयो । उहाँका अनुसार राजमार्ग क्षेत्रमा सुरक्षा प्रभाव बढाउन सशस्त्र प्रहरीसँग पनि सहकार्य गरिएको छ । 

प्रहरीले बिपी मार्ग र जिल्लाका भित्रि सडकमा समेत थप सुरक्षा निगरानी, आकस्मिक गस्ती, ‘क्विक रेस्पोन्स टिम’, प्रहरी पिकेट जस्ता विशेष सुरक्षा परिचालन मिलाएको जनाएको छ । पर्वका बेला चर्को स्वरमा माइक बजाउने, ध्वनि प्रदूषण गर्ने जस्ता गतिविधि नियन्त्रणका लागि प्रशासनले डिजे बजाउन पनि रोक लगाएको छ । विगतका वर्षमा विवाद, झडप र गोली चलाउनुपर्नेसम्मका अप्रिय घटना घटेकाले त्यसको पुनरावृत्ति हुन नदिन प्रशासनले भारतीय आरकेस्ट्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।