• ५ पुस २०८१, शुक्रबार

तटबन्ध कटान गरेको क्षेत्रमा त्रास कायमै

blog

तस्बिर : जनार्जन खत्री बरहथवा नगरपालिका–१५ मा बाढीले कटान गरेको भाग ।

सर्लाही समाचारदाता

सर्लाही, असोज १७ गते । वर्षापछि आएको बाढीले तटबन्ध कटान गरेको क्षेत्रका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । सर्लाहीमा बागमती, लखन्देही, झिम, मनुष्मारालगायत खोलामा दर्जनौँ स्थानमा तटबन्ध कटान गरेर बस्तीतर्फ खोला सोझिएको छ । खोलामा पानीको सतह घटेपछि बस्तीमा पानी आउन छाडे पनि पुनः वर्षा भए तटबन्ध भत्किएको ठाउँबाट फेरि बाढी  गाउँमा पस्ने अवस्था रहेको स्थानीयले बताएका छन् । 

बरहथवा नगरपालिका–१५, बेलटोलमा बागमती नदीले दुई सय मिटर तटबन्ध भत्काएर किसानको धान, मकै, बेसारलगायत बालीनालीमा व्यापक क्षति पु¥याएको छ । पुनः वर्षा भए उक्त भत्किएको तटबन्धबाट थप बालीनाली र बस्तीमा क्षति गर्ने जोखिम रहेको बरहथवा नगरपालिका–१५ का स्थानीय दीपनारायण रायले गुनासो गर्नुभयो । 

बागमती नदीले बसबरिया गाउँपालिका–२, मानपुरमा २५० मिटर बाँध भत्काउँदा अहिलेसम्म पनि छेउछाउका घर डुबानमा रहेका स्थानीयले बताएका छन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले बाँध भत्किएको बस्तीका स्थानीय राम्रोसँग सुत्न नसकेका बताउनुभयो । 

उहाँले डुबानका कारण खाद्यान्न, खानेपानी, सडक, बिजुली जस्ता समस्या झेलिरहेका स्थानीय फेरि बाढी आएर थप क्षति हुने चिन्तामा परेको बताउनुभयो । बाढीले रामनगर गाउँपालिका र धनकौल गाउँपालिकामा ठाउँ ठाउँमा बाँध भत्काएको छ । 

डुबानमा परेको क्षेत्रमा पानी घट्न थालेको छ । पानी घटे पनि घरभित्रको अन्न र खेतबारीमा भएका तरकारी सबै नष्ट भएपछि खानेकुराको अभाव रहेको बलरा नगरपालिका–३, लक्ष्मीपुरका डुबान पीडित जागेश्वर हजारीले गुनासो गर्नुभयो । 

राहत स्वरूप चिउरा र चाउचाउ पाए पनि पेट भर्न नसकिएको उहाँले दुःखेसो पोख्नुभयो । तत्काल बाढी तथा डुबान पीडितको उद्धारमै केन्द्रित भएका स्थानीय प्रशासन र पालिका अहिले राहत वितरणको काममा लागि परेका छन् । बलरा नगरपालिका र रामनगर गाउँपालिकामा पालिकाले विपत्को क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थासँग मिलेर केही दिनका लागि पुग्ने चामल, दाल, नुन, तेललगायतका खाद्यान्न सामग्री वितरण गर्न सुरु गरेका छन् । बाढी र डुबानले प्रायः नदी तटीय सबैजसो बस्तीमा क्षति पुगेकाले सबै माझ राहत पुग्न सकेको छैन् । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पालिकाको नेतृत्वमा राहत वितरणको काम अघि बढाइएको बताउनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन, राहत वितरण र सुरक्षाकर्मीको सहयोगमा विभिन्न स्थानमा तटबन्ध कस्ने काम जारी रहेको जानकारी दिनुभयो । 

बाढीले कटान गरेको क्षेत्रमा तटबन्ध थप बलियो बनाउन बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना र जनतको तटबन्ध फिल्ड कार्यालय हरिपुरसँगसमेत समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।