• १२ मंसिर २०८१, बुधबार

सिमलतालमा पहिरो रोक्न पर्खाल निर्माण सुरु

blog

चितवन समाचारदाता

चितवन, असोज १६ गते । ६२ जनाको ज्यान जाने गरी पहिरोले बस सोहोरेकोे स्थान चितवनको सिमलतालमा मर्मत सुरु भएको छ । ग्रामीण सडक निर्माणका व्रmममा फोहोर झारेर अड्किएपछि वर्षा हुँदा एकै पटक झरेर दुई वटा बसलाई पहिरोले बगाएको स्थानमा मर्मत सुरु भएको हो । सिमलतालमाथि पहाडमा पहिरो रोक्नका लागि पर्खाल निर्माण कार्य भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले भदौको अन्तिम हप्ताबाट चेक पर्खाल निर्माण कार्य भइराखेको जानकारी दिनुभयो । 

सिमलतालको पुलमुनि जम्मा भएको फोहोर र गेग्य्रान सफा गरिएको छ । सडकबाट चार सय मिटरमाथि पहाडमा पहिरो रोक्ने पर्खाल निर्माण गरिँदै आएको इन्जिनियर कार्कीले बताउनुभयो । ग्रामीण सडक निर्माण गर्दा पहाड खनेर त्यहाँ निस्केको माटो फोहोर सिधै तल फाल्दा अड्केर बसेको र एकै पटक मुख्य राजमार्गमा खस्न पुगेको उहाँले बताउनुभयो । 

गत असार २२ गते काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेका दुई वटा बस बिहान ३ बजे सिमलतालको पहिरोले सोहोरेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । बेपत्तापछि सरकारले गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित कार्यदलले तत्काल गर्नुपर्ने कामसहितको सुझाव दिँदै पहिरो रोक्ने पर्खाल निर्माण गर्नुपर्ने, थुनिएको पुलमुनिको फोहोर सफा गनुपर्नेलगायत सुझाएको थियो ।  कार्यदलले पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा इन्जिनियरिङ नगरेको, डिजाइनबिना नै ग्रामीण सडक खनिएको, दुर्घटनास्थलमा ठुलो मात्रामा ‘डेब्रिज’ (गेग्य्रान बहाव) भएको, स्थानीय सडक निर्माणमा सुरक्षा अपनाउनुपर्नेलगायतका सुझाव दिएको थियो । 

बर्सात कम भएपछि थोरै खर्चमा हुने मर्मत तथा सरसफाइको काम तत्काल गरिएको कार्कीले जानकारी दिनुभयो । पर्खाल निर्माणपछि बोटबिरुवा रोप्ने कार्य हुने छ । विस्तृत रूपमा काम गर्नका लागि डिपिआर निर्माण गरेर ठुलो लागतमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।  “वर्षा भएको समयमा र उच्च जोखिमको अवस्थामा मुग्लिङको यात्रामा हामीले रोक लगाउने गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो । पानी परेको समयमा राति मुग्लिङ बाटो भएर यात्रा सकेसम्म नगर्न उहाँले आग्रह गर्नुभयो ।