धर्बेन्द्र झा
जनकपुरधाम, असोज १५ गते। विपद् व्यवस्थापनमा वर्तमान संविधान बाधक नरहेको भन्दै मधेश प्रदेशका प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपद्को व्यवस्थापनमा तीनवटै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मंगलबार जनकपुरधाममा आयोजना गरेको सुरक्षा तथा विपद् सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने प्रदेश सभा सदस्यले यस प्रकारको जोड दिनुभएको हो।
नेकपा (एमाले) का प्रदेश सभा सदस्य राजेन्द्र चौधरीले विपद्को समयमा नागरिकलाई राहत उद्धारका लागि आवश्यक सामग्रीहरू प्रदेश सरकारले पहिला नै किनेर राख्नुपर्ने भन्दै समयमा नदिने राहतको कुनै अर्थ नहुने बताउनुभयो। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रामसरोज यादवले विश्वव्यापीरुपमा वातावरणीय प्रभावले विपद् आउने गरेको कारण मधेश प्रदेशमा विपद् आउन नदिनका लागि चुरिया क्षेत्रको संरक्षण गर्नुको साथसाथै वृक्षारोपण सहितका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
जसपा नेपालका प्रदेश सभा सदस्य रामअशिष यादवले विपद् जोखिम न्यूनीकरण गर्नका लागि मधेश प्रदेशमा ऐनको आवश्यकता भएको भन्दै प्रदेश सरकारले ऐन बनाएर विपद् जोखिम न्यूनीकरण प्राधिकरणको स्थापना गर्नु पर्नेमा जोड दिनुभयो।
जनमत पार्टीका प्रदेश सभा सदस्य सञ्जय यादवले विपद् कुनै पनि बेला आउन सकिने भएकोले प्रदेश सरकारले आफ्नो क्षमताले भ्याए जति न्यूनीकरणका लागि पूर्व तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।
लोसपाका प्रदेश सभा सदस्य उपेन्द्र महतोले विपद्को उच्च जोखिममा रहेको मधेश प्रदेशको अवस्था बारेमा अध्ययन र अनुसन्धान गरी प्रदेश सरकारले सोही बमोजिम आफ्ना नीति तथा कार्यक्रममा न्यूनीकरणका लागि जनचेतना मूलक कार्यक्रमसहित आवश्यक कार्यक्रम समावेश गरी अघि बढ्नु पर्नेमा जोड दिनुभयो। नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य शारदा पहाडीले विपद् व्यवस्थापनका लागि निमार्ण भएका कानुनको कार्यान्वयनमा जोड्दिन प्रदेश सरकारकारलाई आग्रह गर्नुभयो।