• १५ असोज २०८१, मङ्गलबार

दानसाँघु खोलामा पक्की पुल नहुँदा वारपारमा समस्या

blog

बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा ज्यान जोखिममा राखेर मोडरसाइल चलाउँदै गरेका स्थानीय । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज १५ गते । बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पक्की पुल नहुँदा सवारीसाधनलाई वारपार गर्न सास्ती खेप्नु परेको छ ।

मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै दश वर्ष भए पनि अझै दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ले सवारीसाधनलाई हिउँदे बर्खा खोलामा वारपार गर्न निकै सास्ती खेप्दै आउनुपरेको हो । हिउँदको महिना चिसोले खोला तर्न नसकिने र बर्खाको समय पनि पानीको बहाव बढ्दै जाने गरेकोले यहाँ सवारी साधनामा पनि वारपार गर्न निकै समस्या हुने गरेको जिप चालक पदम बडुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदमा मार्तडी देखि कोल्टी सम्मको बाटो खासै बिग्रिने नभएकोले गाडी चलिरहन्छन् । तर दानसाँघुमा पक्की पुल नभएको कारण यहाँ हिउँद बर्खामा खोला तर्न समस्या हुने गर्छ ।” यो खोलामा पक्की पुल भएको भए यहाँ बर्खाको समयमा कोल्टी, हिमाली जगनाथ र स्वामिकार्तिकका व्यापारीलाई सामान ढुवानी गर्न निकै सहज हुने गरेको बडुवालले बताउनुभयो ।

२०७२ सालदेखि हिउँदको महिना यो सडकमा गाडी चल्न थालेपछि जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयलाई दैनिक उपभोगयका सामाग्री ढुवानी निकै सहज भएको छ । 

अछामको साँफे बगर तथा मार्तडीबाट भेडा र खच्चरको भरमा खाद्यान्न ढुवानी गर्दै आएको यहाँ स्थानीयलाई मार्तडी कोल्टी सडकले निकै सहज गरेको भए पनि दानसाँघु खोलामा पक्की पुल नहुँदा भने बर्खाको समय फेरि समस्या हुने गरेको छ । 

हिउँदको समय बस, ट्रक, जिप र ट्याक्टर मार्तडीदेखि कोल्टी सुचारु हुँदै आएपनि बर्खामा भने ती सबै सवारी साधन दानसाँघु खोला वारी नै रोकिने गरेपछि यहाँका स्थानीयलाई बर्खाको समय दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै समस्या हुने गर्छ ।

दानसाँघु खोलामा पक्की पुल नहुँदा बर्खाको समय यहाँका व्यापारीले भरियाद्वारा सामान ढुवानी गराउने हुँदा स्थानीयवासीलाई चर्को मूल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता छ।

यहाँका नौ वटै स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरूलाई जडाङ्गामा रहेको बेलिव्रिजलाई दानसाँघुमा लिने सहमति बनाएको भए पनि पैसा अभावका कारण त्यो पुल यता ल्याउन नसकेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “दानसाँघु खोलामा तत्काल बेलिव्रिज हाल्नका लागि प्रदेश र सङ्घीय सरकार सँग माग गर्दै आएको भए पनि अहिलेसम्म सुनुवाइ  भएको छैन ।”

स्थानीय सरकारले पुल बनाउन सक्ने सम्भावना छैन । प्रदेश र सङ्घीय सरकारले रकम हाल्दैन । त्यसैले यो खोलामा पुल निर्माण हुन सकेको छैन, बोहराले भन्नुभयो ।

अनाईगाड र भौनेराखोलामा हाल मोटरेवल पुल निर्माण भइरहेकोले बेलिव्रिज आवश्यक नपर्ने तथा बाजुरा जिल्लाको मार्तडी देखि कोल्टी सडक खण्डको दानसाँघु खोलामा त्यसको आवश्यक छ । त्यसैले दानसाँघु खोलामा करिब ४० मिटर बेलिव्रिज उपलब्ध गराई दिनु भनेर सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले २०८० माघ  २२ गते पत्र पठाएको थियो ।

तर अहिलेसम्म यो खोलामा पुल भने बनेको छैन । यहाँका स्थानीयलाई यो पत्र कार्यान्वयन भए नभएको बारेमा पनि केही जानकारी छैन । मार्तडी कोल्टी सडकलाई कालोपत्रे काम भइरहेको भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण हुने वा नहुने भन्ने कुराको केही जानकारी छैन । यहाँका स्थानीयले दानसाँघु खोलामा पुल निर्माणका लागि पटक पटक माग राख्दै आएका भए पनि त्यसको सुनुवाइ भने कतैबाट भएको छैन ।

मार्तडी कोल्टी सडक निर्माणको जिम्मा भौतिक पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको हो । तर दानसाँघु खोलामा पक्की पुल बारे केही जानकारी नभएको भौतिक पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका सुचनाअधिकारी देवी प्रसाद उपाध्यायले बताउनुभयो ।