• ५ मंसिर २०८१, बुधबार

बाह्र लाख बढी रुपियाँको मोबाइल डिस्प्ले बरामद

blog

बरामद गरिएको सामान ।

कमल खत्री

धम्बोझी, असोज १५ गते । वडा प्रहरी कार्यालय नेपालगन्ज, बाँकेले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो । 

नेपाल–भारतको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा नेपालगन्जमा सामान ल्याउने गरिन्छ । अवैधरुपले भन्सार छली गरेर भारतबाट नेपालगन्ज भित्र्याएको ११ लाख ८८ हजार रुपियाँ बराबरको १ हजार ८० पिस मोबाइल डिस्प्ले वडा प्रहरीले सार्वजनिक गरेको छ । 

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोलीले नेपालगन्ज उपमहानगरपालिका –४ सल्यानीबाग नजिकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बरामद गरिएको मोबाइल डिस्प्लेलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ । 

यसैगरी चाडपर्व नजिकिँदै गर्दा भारतबाट नेपालमा अवैध सामानहरू भित्रिने गरेपछि प्रहरीले सुरक्षा चेकजाँच पनि बढाउँदै लगेको जनाएको छ । गत असोज १० गते पनि जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरी ल्याइएको ठुलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको थियो । 

बाँके प्रहरीको टोलीले नेपालगन्ज –४ बसपार्क आसपासबाट अवैध रूपले ल्याइएको लेडिज कटन सुट, लेडिज सारी, उलनकुर्ता, बर्का र मखमलको कपडालगायतका अन्य लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीले बरामद गरेको २ लाख २४ हजार ७ सय रुपियाँ बराबरका सबै अवैध लत्ताकपडा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको थियो ।