• १४ असोज २०८१, सोमबार

मध्यपहाडी राजमार्गले फेरिँदै जीवनशैली

blog

मध्यपहाडी राजमार्ग अन्र्तगत दैलेख मन्घर सडक खण्डको बेस्तडा बजार । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, असोज १४ गते । दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसी पाँच वर्ष देखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । त्यसअघि आफ्नै भान्साको लागि तरकारी खेती गर्ने उहाँ घर नजिकै मध्यपहाडी लोकमार्ग घर आँगनबाटै निर्माण भएर सञ्चालन भएपछि व्यावसायिक कृषिमा लाग्नुभएको हो । 

लोकमार्ग सञ्चालन आएपछि उहाँले गरेको आलु, टमाटर, काउली बन्दा सिमी लगायत तरकारीले सहजै बजार पाएको छ । बजार खोज्न जान नपर्ने भएपछि दुई रोपनीबाट सुरु गरेको तरकारी खेती ३० रोपनीमा फैलिएको छ । मूल्य कम पाएपनि घरमा तरकारी सडेको छैन लोकमार्ग निर्माण भएसँगै जाजरकोट जिल्लाका सुयाडा, दशेरा, थलह बजार र दैलेखका बेस्तडा बजारदेखि दैलेख बजारसम्म उहाँले उत्पादन गरेको तरकारी पुग्दछ । घरआगनमै तरकारी सङ्कलनका लागी कोल्ड स्टोर बनेका कारण पनि सजिलो भएको छ । 

दैलेखको नारायण नगरपालिका–२ का सर्बराज भण्डारी लामो समय सरकारी सेवा गरी १० वर्ष देखि निरन्तर तरकारी खेती गर्नुभएको छ । उहाँलाई विगत चार वर्ष देखि डोकोमा तरकारी बोक्नु परेको छैन । घर आगनैबाट पक्की सडक(मध्यपहाडी लोकमार्ग) सञ्चालनमा आएपछि अहिले घरबाटै विभिन्न स्थानसम्म सहजै पुग्छ । मध्यपहाडी लोकमार्गको बाटो भएर दैलेख बजार आउने र जानेले नै अर्गानीक तरकारी भन्दै लिन थालेपछि उहाँलाई तरकारी बिक्री हुँदैन भन्ने समस्या नै भएन । 

उहाँ मात्र होइन दैलेख जिल्लाको पूर्वको जगनाथदेखि पश्चिमको राकमकर्णाली सम्म जोड्ने मध्यपहाडी लोकमार्गमा गाडी गुड्न थालेपछि भण्डारीको मात्र होइन अन्य गाउँलेको स्थानीय उत्पादनले सजिलै बजार पुग्छ । जगनाथ र मेहेल्तोली मात्र नभएर मध्यपहाडी लोकमार्गले गाडी चल्न थालेपछि लोकमार्गले जोडेका विभिन्न बस्तीका स्थानीयको उत्पादन सजिलै बजारसम्म गएको त छ त्यसका साथै बजार बाट ल्याउनु पर्ने दैनिक उपभोग्य बस्तु देखी अन्य सरसामान सहजै केही घण्टामै घरमा पुग्छ । मध्यपहाडी लोकमार्ग दैलेखको पूर्व जगनाथदेखि पश्चिम राकमकर्णाली सम्मका धेरै गाउँको पहुँच पुगेपछि सर्वसाधारणको दैनिकीमा सहजतातर्फ उन्मुख छ । 

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले पुष्पलाल मध्यपहाडी राजमार्ग जोडिएका पालिकाहरूमा कृषिका धेरै कार्यक्रम सञ्चालन भएको समेत जानकारी दिनुभयो । उहाँले कृषक नै उत्साही भएर कृषि गरिरहनुभएको छ उत्पादन भएको बस्तुहरूको बजारीकरण सजिलै भएका कारण होला त्यसमा कार्यालयले उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहयोग गरेका छौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी राजमार्ग दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये सात स्थानीय तहलाई जोडेको छ भने यसको लम्बाई एक सय २५ किलोमिटर लामो छ । 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक आयोजना कार्यालय दैलेखका आयोजना प्रमुख इन्जिनियर अन्जु परियारले दैलेख जिल्ला भित्र पर्ने एक सय २५ किलोमिटर मध्ये डेढ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले डेढ किलोमिटर सडकमा विवाद देखिएपछि उक्त निर्माण कार्य रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, "दैलेख जिल्लाको नारायण नगरपालिका–२ जाहरकोट खण्ड र नारायण नगरपालिका–६ को सनक मोड निर्माण गर्न बाँकी छ ।" एक सय २५ किलोमिटर सडक निर्माण सम्पन्न हुने चरणमा रहेको र एक वर्षभित्र निर्माण सम्पन्न गरी सडक डिभिजन सुर्खेतलाई उक्त सडक हस्तान्तरण गरिने आयोजनाका प्रमुख परियारको भनाइ छ । 

जिल्लाको भौतिक विकासमा कोसेढुंगा थपेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सरकारको गौरवको आयोजना हो । यसले नागरिकको जीवनशैली परिवर्तनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको नागरिक समाजका अगुवा वीर बहादुर भण्डारीले बताउनुभयो । उहाँले जिल्लामा यती ठुलो आयोजना भित्रिएर निर्माण सम्पन्न हुँदै गर्दा दैलेखको पूर्व जगनाथदेखि राकमकर्णालीसम्मका विभिन्न स्थानमा बजार विस्तारसँगै किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री हुने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, "दुई ठाउँमा देखिएको विवाद तत्काल समाधान गरी आयोजनालाई सम्पन्न गर्न जिल्लाका सरोकारवाला निकायले पहल गर्नुपर्ने छ ।" दैलेखका ७ स्थानीय तहमध्ये भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँठीकाँध गाउँपालिका र आठविस नगरपालिकाका भूभाग समेट्दै राजमार्ग सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला प्रवेश गरेको छ । राजमार्गले यहाँको कृषि उत्पादन,पर्यटन क्षेत्रमा नागरिकको आवतजावत समेत वृद्धि भएको छ ।