• १४ असोज २०८१, सोमबार

आरोहण क्षेत्र प्रभावित

blog

फाइल तस्बिर ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको हिमपातले आरोहण क्षेत्र प्रभावित भएको छ । पर्यटन विभागका अनुसार गोरखाको उत्तरी क्षेत्र र मुस्ताङमा असोजमै भएको हिमपातले मनासलु र टुकुचे हिमाल आरोहण प्रभावित भएको हो । 

विभागका निर्देशक राकेश गुरुङका अनुसार मनासलु क्षेत्र र टुकुचे हिमाली क्षेत्र हिउँले ढाकेपछि आरोहणमा गएका आरोहीहरू आधार शिविरमै रोकिएका छन् । उहाँले भन्नुभयो, “गोरखाको उत्तरी क्षेत्रमा भएको बाक्लो हिमपातका कारण मनासलु आरोहण गर्न बाँकी करिब ५० जना आरोही आधार शिविरमै रोकिएका छन् । आरोहण पूरा गरेर हिमपातका कारण आधार शिविरमै रोकिएका आरोहीमध्ये केहीलाई आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।”

हिमपातका कारण मनासलु, धवलागिरि पहिलो, कुटुचेलगायत हिमालका आधार शिविरमा रोकिएका आरोही आरोहणका लागि अनुकूल मौसमको पर्खाइमा रहेको र मौसममा सुधार आएपछि मात्रै पुनः आरोहण सुरु हुने उहाँले बताउनुभयो । मनासलु आधार शिविर क्षेत्रमा करिब पाँच फिटसम्म हिमपात भएकाले आरोहण सुरु हुन केही दिन लाग्ने उहाँको भनाइ छ । मनासलु आरोहणका लागि यो सिजनमा २८ समूहका ३०८ जनाले अनुमति लिएका थिए ।

निर्देशक गुरुङका अनुसार हिमपातका कारण हिमाली क्षेत्रमा रोकिएका आरोहीको सकुशल उद्धारका लागि हाल हेलिकोप्टर उडान गर्न निषेध रहेको क्षेत्रमा समेत उडानलाई सहज बनाउन गृह मन्त्रालयले स्विकृति दिएको छ । त्यस्तै मनासलु र सोलुखुम्बु क्षेत्रमा उद्धार पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायब उपरीक्षक रितबहादुर सिंहका अनुसार आइतबार देशका विभिन्न स्थानमा अलपत्र परेका ८८ जना विदेशी नागरिकको उद्धार गरिएको छ ।पर्यटन विभाग र पर्यटन प्रहरीको समन्वयमा गोरखाको सामागाउँबाट ८६ जना, काभ्रेबाट दुई जना पर्यटकलाई हेलकोप्टरमार्फत उद्धार गरिएको हो । अविरल वर्षासँगै आएको पहिरोमा परी सिन्धुपाल्चोकमा एक र काभ्रेको पनौतीमा एक जना पर्यटकको निधन भएको छ । त्यस्तै सिन्धुपाल्चोकमा एक र मनासलुबाट एक जना पर्यटक बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।