• १३ असोज २०८१, आइतबार

बाढीपहिरोले पाँचथरमा खानेपानी र विद्युत अवद्ध

blog

फिदिम नगरपालिका ४ मा रहेको जरुवा धारामा पानी थाप्न उभिएका नागरिक । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज १३ गते। पाँचथरमा बाढीपहिरोले विद्युत र खानेपानी आपूर्ति ठप्प भएको छ। असोज ९ गतेदेखि १२ गतेसम्म परेको  अविरल वर्षासँगै आएको  बाढीपहिरोले खानेपानी र विद्युत आयोजनामा क्षति गरेसँगै पाँचथरमा पानी र विद्युत आपूर्ति ठप्प भएको हो। 

अहिले बजारबासी जरुवा पानीको भरमा छन् भने जरुवा पानीका धारामा भीड बढेको छ। 

घण्टौ लाइनमा बस्ता पनि पालो नआएपछि दैनिक कामकाजमा समस्या भएको फिदिम–४ का सुष्मा राईले बताउनुभयो। फिदिममा वितरित खानेपानी दर्जन भन्दा धेरै ठाउँमा भत्किएकाले निर्माण कार्य थालिएको उपभोक्ता समिति अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो।

बाढीपहिरोले पाँचथरमा  साना ठुला गरेर सात वटा जलविद्युतमा क्षति पुगेको छ। जलविद्युतमा क्षति पुगेसँगै सिंगो जिल्ला अन्धकार बनेको छ। 

खोरुङगा खोला, बिके पावर कम्पनी, पाँचथर पावर कम्पनी माउन्टेन र मुवा खोलामा क्षति पुगेको खोरुङगा खोलाका साइड इन्चार्ज हरि पौडेलले जानकारी दिनुभएको छ। 

नेपाल विद्युत प्रधिकरणका अनुसार पाडाजुंगी–गोदक–इलाम हुँदै पाँचथर अमरपुरसम्म जोड्ने १३२ केभी प्रसारण लाइनको इलाम जिल्ला महमाईस्थित रहेको ५१  नम्बरको टावरमा क्षति पुगेकाले सिगो पाँचथर जिल्लामा विद्युत ठप्प भएको हो।