• १३ असोज २०८१, आइतबार

एक सयभन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको रुसको दाबी

blog

मस्को, असोज १३ गते । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५  युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

“करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ,” मन्त्रालयले टेलिग्राममा भनेको छ । दक्षिणी रूसको भोल्गोग्राद क्षेत्रमा ६७  वटा ड्रोन नष्ट गरिएको गभर्नर आन्द्रे बोचारोभले बताउनुभयो ।

त्यसैगरी, बेलगोरोड क्षेत्रमा १७  र भोरोनेज क्षेत्रमा १७  वटा ड्रोन नष्ट गरिएको गभर्नर अलेक्सान्डर गुसेभले बताउनुभयो । भोरोनेज सहर र यसको उपनगरमा ड्रोन खस्दा दुई आवासीय भवनमा आगलागी भएको तर कुनै हताहती नभएको उहाँले बताउनुभएको छ ।

रोस्तोभ क्षेत्रमा थप १८ वटा ड्रोनहरू नष्ट गरिएको गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताउनुभयो । ब्रायन्स्क, कुस्र्क र क्रास्नोडार क्षेत्रमा एक-एक युक्रेनी ड्रोन नष्ट गरिएको र आजभ सागरमा तीन ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले बताएको छ । रासस/एएफपी