• १३ असोज २०८१, आइतबार

जताततै पहिरो, विपत् प्रतिकार्यमा जुट्न अपिल

blog

राप्ती नदीमा आएको बाढी । तस्बिर : सिराज खान

लुम्बिनी प्रदेश ब्युरो

बुटवल, असोज १३ गते । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडकखण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ । 

पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सञ्चालन गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्युठान–भालुबाङ सडकखण्डको माण्डवी गाउँपालिका–१, गर्जेनीस्थित सिमलचौर, सरुमारानी गाउँपालिका–४, पाखुरी खोलामा पहिरो झरेको छ । नौबाहिनी गाउँपालिका–७, कालिमाटीस्थित मैरामारेदेखि बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ । अर्घाखाँचीस्थित पाणेनी गाउँपालिका–२, सालझन्डी ढोरपाटन सडक, गोरुसिङ्गे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ–सल्यान राप्ती राजमार्ग, घोराही–लमही सडकखण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ ।

सन्धिखर्क–११, धारापानी बस्ने जुद्धबहादुर नेपालीको घर अविरल वर्षाका कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । शीतगङ्गा नगरपालिका–७, जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको दुई तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षति पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैबिच लुम्बिनी प्रदेश सरकारले विपत् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण निम्तिन सक्ने विपत्को प्रतिकार्यमा जुट्न अपिल गर्नुभएको हो । तीन वटै सुरक्षा निकाय, नागरिक स्वयंसेवक तथा युवावर्ग विपत् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा अपिल गर्नुभएको छ । 

तटीय क्षेत्रमा उच्च सतर्कता 

नेपालगन्ज समाचारदाता सिराज खानका अनुसार अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कता तहनजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका गाउँबस्तीमा उच्च सतर्कता रहन आग्रह गरिएको छ ।  जिल्ला आपात्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु छ मिटर कायम गरिएकोमा पानी सोनजिक पुग्न लागेकाले जोखिममा परेका स्थानमा सावधानीको सूचना जारी गरिएको जानकारी दिनुभयो ।

उहाँले राप्ती नदीमा पानीको सतह पाँच मिटर ९१ सेन्टिमिटरसम्म पुगेको बताउनुभयो । ज्ञवालीका अनुसार दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको ज्ञवालीले बताउनुभयो । कुसुममा पानीको सतह ७.८ मिटर पुग्नेबित्तिकै खतरा स्वरूप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७.८ मिटर पुग्नेबित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गरेका छन् । 

जिल्ला विपत् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीको सतह बढेर ५.९१ मिटरसम्म पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो । राप्ती नदी वरिपरिको क्षेत्रका विपत् व्यवस्थापन समिति पनि तयारी अवस्थामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । 

खोलाले घर बगायो

तम्घास समाचारदाता तिलाचन पाण्डेका अनुसार गुल्मीमा दुमै खोलाले घर बगाएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ स्थित दुमैखोला बस्ने कृष्ण विकको दुमै खोलाले घर बगाएर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

खोलामा पानीको बहाव बढेर आउँदा विकको जस्ताले छाएको दुई तले कच्चीघर बगाएको र  मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । निजको परिवारलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैबिच पहिरोका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रिडी–तम्घास सडकखण्डको लुम्छा र विरवासमा सडकमाथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निरन्तर रूपमा पानी परिरहेकाले सडक खुलाउन नसकिएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध रहेका छन् ।