• १३ असोज २०८१, आइतबार

नेपाल–चीन सम्बन्ध बुझाउने पुस्तक

blog

लेखनाथ, असोज १३ गते । लेखक एवं पत्रकार सुधीर शर्माका हालै प्रकाशित दुई पुस्तकबारे पोखरामा शनिबार चर्चा गरिएको छ । किताब पब्लिसर्स प्रालिले शर्माका हिमालपारिको हुरी र भिक्षु, व्यापार र विद्रोह बजारमा ल्याएको हो । 

रेन्डम रिडर्स सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थशास्त्रीसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी र लेखक सरस्वती प्रतीक्षाले कृतिका अन्तरवस्तुबारे धारणा राख्नुभयो । 

मुल्मीले भारत स्वतन्त्र हुनुअघि नेपालको सम्बन्ध भोट र चीनसँग सुमधुर रहेको सुनाउँदै संस्कृति, राजनीति र अर्थतन्त्र जोडिएको प्रतीकात्मक रूपमा उल्लेख गर्नुभयो । “यताबाट बुद्ध पठाइयो, उताबाट माओ ल्याइयो भन्ने गरिन्छ ।” ल्हासामा व्यापार गर्नेबाटै नेपालमा कम्युनिस्ट विचारधारा फैलिएको पुस्तकले औँल्याएको छ । लेखक प्रतीक्षाले भिक्षु, व्यापार र विद्रोह आख्यात्मक कृति जस्तो र हिमालपारिको हुरी पत्रकारको लेख जस्तो भएको टिप्पणी गर्नुभयो । राजा महेन्द्रको राष्ट्रवादी अडान र भृकुटीका पुर्खाबारे पृथक् तथ्य पुस्तकले अघि सारेको उहाँले औँल्याउनुभयो । 

लेखक शर्माले पहिलो कृति ‘प्रयोगशाला’ मा दक्षिण अर्थात् नेपाल र भारतको सम्बन्धलाई पर्गेल्न खोजेको र अहिले उत्तरी छिमेकीसँगका सम्बन्धका आयामलाई प्रकाशित गरेको उल्लेख गर्नुभयो । छिमेकीको प्रभाव अनेक तवरले पर्ने उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “जतिबेला भारत र चीन पनि समृद्ध थिए, त्यतिबेला काठमाडौँ पनि अलिकति समृद्ध रहेछ । उनीहरू कमजोर हुँदा हामी पनि कमजोर बनेको इतिहास छ । अब दुवै शक्ति राष्ट्र र ठुला अर्थतन्त्रका रूपमा उदाउँदा नेपाल कमजोर रहनु फरक परिवेश हो ।”