• १३ असोज २०८१, आइतबार

ज्यान जोखिममा राखेर उद्धार गरे चणिकलाल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गर्नुभएको छ । उहाँले आफ्नो ज्यान जोखिममा पारेर सुरक्षा निकायले उद्धार गर्न नसकेका व्यक्तिको उद्धार गर्नुभएको हो । उद्धार गरिएको व्यक्तिलाई पूर्वप्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) अशोक सिंहले तत्काल अस्पतालसम्म पुर्‍याएर जीवन बचाउनुभयो । 

पूर्वडिआइजी सिंहका अनुसार नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा रौतहट घर भई सुगम बस्ती टोलमा बस्ने राजु साह, उहाँकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साह बसेका टहरोलाई नदीले डुबाएको थियो ।

चारैतिर खोलाले घेरेका उनीहरू छानामाथि चढेर उद्धारको याचनासहित केहीबेर हात हल्लाइरहे । केहीबेरमै खोलामा टहरासँगै चारै जनालाई बगाएर लग्यो । कोही पनि खोलमा पसेर उद्धार गर्ने अवस्था भएन । गृहमन्त्री रमेश लेखकले हेलिकोप्टर उडान गर्न नसकेको र सुरक्षाकर्मीले पनि उद्धार गर्न सक्ने अवस्था नरहेको बताउनुभएको थियो तर त्यही बेला काभ्रेपलाञ्चोक तेमाल–९ का चाणिकलाल तामाङ उर्लिएको नक्खु खोलमा हेलिएर दुई जनालाई किनारमा ल्याउन सफल हुनुभयो । पेसाले पेन्टरको काम गर्ने चणिकलालले टहरासँगै बगेर दुई सय मिटर तल पुगेका दुई जनालाई उद्धार गरेपछि पूर्वडिआइजी सिंहले गाडीमा राखेर पाटन अस्पताल पुर्‍याई दुई जनाको ज्यान बचाउनुभयो ।