• १२ असोज २०८१, शनिबार

नागरिकको खोजी, उद्धार र राहत उच्च प्राथमिकता

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ,  असोज १२  गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । 

देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिनुभयो । “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको जनाउँदै उहाँले त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास गर्ने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमी एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आजै आकस्मिक समन्वयात्मक बसी प्रभावितलाई राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

“कहाँ–कहाँ के–के नोक्सान भयो, बैठकमा देशभरको विपद् परिस्थितिको समीक्षा गरियो, अझै पनि चुनौती रहेका क्षेत्रको पहिचान गरेर सम्बन्धित मन्त्रालयलाई सक्रियताका साथ उद्धारमा लाग्न निर्देशन दिइएको छ”, मन्त्री गुरुङले भन्नुभयो । 

बाढी, पहिरोलगायत विपत्को समयमा गृह मन्त्रालयको सबैभन्दा बढी भूमिका हुने जनाउँदै उहाँले उद्धार वा अन्य सहयोगमा कुनै पनि कमी आउन नदिन सक्रियताका साथ काम गर्न बैठकबाट निर्देशन भएको बताउनुभयो । 

मन्त्री गुरुङले खानेपानी, विद्युत्, सञ्चार, सडकलगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन सबै मन्त्रालयलाई निर्देशन दिनुका साथै विपत्का समयमा आ–आफ्ना जिम्मेवारी पूरा गर्न सम्पूर्ण मन्त्रालय र सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । 

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली सेना वा नेपाली प्रहरीलगायत विपद् प्रतिकार्यमा लागि ‘अलर्ट’ रहन निर्देशनसमेत दिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । रासस


यो पनि पढ्नुहोस

प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक