• १२ असोज २०८१, शनिबार

नवलपुरका सयौँ घर डुबानमा

blog

वर्षाले बस्ती डुबाएपछि उद्धारमा स्थानीय ।

बोमलाल गिरी 

नवलपुर, असोज १२ गते । लगातारको वर्षापछि नारायणी नदी बस्तीमा छिर्दा तटीय क्षेत्र  डुबानमा परेको छ । नदीबाट यहाँका सयौँ घर डुबानमा परेका छन् । मध्यविन्दु नगरपालिका वडा २ मा तीन सयभन्दा बढी घर डुबानमा परेको र थप बस्ती जोखिममा रहेको वडाध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सितापुर, नन्दपुर, भुताहा, धजाहका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । यहाँ ७० जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ सारिएको र उद्धार कार्य चलिरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ । 

यस्तै, वर्षा रातिसम्म हुने हो भने यहाँको बस्ती टापुमा परिणत हुने अध्यक्ष अधिकारीले बताउनुभयो । यहाँका झण्डै ८० घर परिवार यसअघि नै विस्थापित भएका थिए । 


कावासोती –१५ बाघखोर र वडा १७ अमलटारीका ५० भन्दा बढी घर डुबानमा परेका प्रहरीले जनाएको छ । तलबाट नारायणी र माथिबाट केरुङ्गे खोला पसेपछि यहाँका बस्ती डुबानमा परेका हुन् ।

गैँडाकोटका चारवटा वडाका तीन सयभन्दा बढी डुबानमा परेका गैँडाकोट प्रहरीले जनाएको छ । गैँडाकोटका बोटे टोल, सुकुम्वासी टोल, गैरी सिकारी टोल, थुम्सी, पितौजी लगायतका क्षेत्र डुबानमा परेका हुन् । 

यसैगरी नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार गैँडाकोट नगरपालिका २ स्थित होटल रिभर क्राउन र नारायणी रिसोर्ट तथा स्थानीयका घरमा फसेका ७७ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । 

अविरल वर्षापछिको खहरे खोलाले बुलिङटार गाउँपालिका–३ मा तीन घर बगाएको छ ।  क्षतिको विवरण प्राप्त भइसकेको छैन ।