• १२ असोज २०८१, शनिबार

सप्तकोशीको टापुमा फसेकाहरूको उद्धार भएन

blog

सप्तकोशी नदीमा आएको पानीको बहाव ।

बाबुराम कार्की 

वराहक्षेत्र, असोज १२ गते । सप्तकोशीको चिलैया टापुमा फसेका १८ जनाको उद्धारको प्रयास भइरहे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन । 

सुनसरीको वराहक्षेत्र नगरपालिका–६ चिलैया टापुमा गोठ राखेर बसेका पशुपालक कृषकहरू सप्तकोसी नदीको बिच भँगालोमा फसेपछि अहिले उद्धारको प्रयास बिहानदेखि भए पनि उद्धार हुन सकेको छैन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि नदीमा पानीको तीव्र वेगसँगै बगेर आएको काठ, दाउरा, ढुङ्गाका कारण पानी बोट, डुङ्गा जान नसक्दा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । 

हेलिकप्टर मगाइए पनि प्रतिकूल मौसमका कारण ल्याउन कठिनाइ भइरहेको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उद्धारका लागि हेलिकप्टर ल्याइने प्रयास भने जारी रहेको उहाँले बताउनुभयो । 

नदीमा यो वर्षकै उच्च बाढी आएपछि नदीको टापुमा फसेकाहरूलाई उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नदीको बिचटापुमा फसेका १८ जनाको सङ्ख्यामा रहेका मानिसलाई उद्धार गर्न बोट जान नसकेपछि हेलिकप्टरबाट उद्धार गर्ने भनिए पनि हेलिकप्टर आउन नसक्दा फसेकाहरूको उद्धार गर्न कठिन भइरहेको जनाइएको छ । 

वराहक्षेत्र ६ को ठाकुरबारी क्षेत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका उच्च अधिकारी उद्धारका लागि पुग्नुभएको छ । पाँच दिनदेखि परेको अविरल वर्षाका कारण कोसी नदीमा पानीको बहाव उच्च हुँदै गइरहेको छ । श्रीलङ्का टापु क्षेत्रमा समेत नदीले कटान गरिरहेको टापुका बद्री राईले  बताउनुभयो ।