• १२ असोज २०८१, शनिबार

देवघाट विद्युतीय शवदाह गृह कटानको जोखिम

blog

चितवनको देवघाटधाम नारायणी नदी किनारमा निर्माण हुँदै गरेको विद्युतीय शवदाह गृहमा पसेको बाढी । तस्विरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज १२ गते । देवघाटमा निर्माण सम्पन्न हुन लागेको विद्युतीय शवदाह भवन नारायणी नदीले  डुबाएको छ । नदी कटानको उच्च जोखिममा रहेको ६ वर्ष अगाडिदेखि निर्माण सुरु भएको शवदाह भवन निर्माण पूरा भएको छैन ।

निर्माण सम्पन्न हुने अन्तिम अवस्थामा रहेको छ । तर भवन निर्माणको स्थानमा नारायणी नदीको बाढी पसेर भत्काउने जोखिम निम्त्याएको छ । 

दुई तले भवनको जमिनमाथिको पहिलो तलामा बाढी पसेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद वरालले जानकारी दिनुभयो । ‘शवदाह भवनको पश्चिमतर्फ बाढीले कटान गर्न थालेको छ’ उहाँले भन्नुभयो, ‘साउनमा पनि बाढीले जोखिम वृद्धि गरेको थियो, अहिलेको बाढीले अझ समस्या आएको छ ।’ 

शवदाह भवन निर्माणस्थलमा ग्रावेलले पुरेर फराकिलो बनाएको स्थान हो । २०७५ माघ ३ मा शवदाह निर्माणका लागि मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको थियो । समयमा काम नसकेपछि थपिएको समयमा सम्पन्न नभएपछि फेरि म्याद थपेर २०८१ पुस २९ सम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । 

अहिलेको बाढीले भत्काउने जोखिम भएपछि यसको निर्माण अझ अन्योलमा परेको छ । संघीय सरकारको बजेटबाट ११ करोड २१ लाख ८ हजार ६४१ रुपियाँमा शवदाह गृह निर्माणको ठेक्का लगाइएको थियो ।