• १२ असोज २०८१, शनिबार

उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै ।

काठमाडौँ, असोज १२ गते । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले जोखिममा रहेका मानिसहरूको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले अहिले काठमाडौँमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरूको उद्धार गरिएको बताउनुभयो ।

उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरू बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज बनाउने काम भइरहेको बताउनुभयो । उहाँले सबै नागरिकले सतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो । उहाँले उद्धार, राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले पुनः स्थापित र पुनर्निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरू बगेको भन्दै हेलिकोप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनुभयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनुभयो ।

‘‘देशभर मानिसहरूले ज्यान गुमाएको स्थिति छ । सडकहरू अवरुद्ध भएको, पुलहरू बगेको स्थिति छ । पहिरो, बाढी र डुबान भएको छ । त्यसलाई हामीले देशभरको सूचना सङ्कलन गरेका छौँ । त्यसको मूल्याङ्कन गरेका छौँ । म सबैभन्दा पहिला प्राकृतिक प्रकोपको विपद्बाट ज्यान गुमाउनुहुने सबैका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । जोखिममा रहेका मानिसहरूलाई नेपाल सरकार अत्यन्त गम्भीरतापूर्वक, अत्यन्त संवेदनशील भएर यो विपद्को घडीलाई हेरिरहेका छौँ । म सबै दिदीबहिनी दाजुभाइलाई आश्वस्त गर्न चाहन्छु, नेपाल सरकारले आफ्नो तर्फबाट उद्धार गर्ने काममा, राहत दिने काममा, घाइतेको उपचार गर्ने काममा र सडकहरू अवरोध भएको स्थिति, बाढी, पहिरोका कारणले पुल पुलेसा बगाएको कुराहरूलाई मानिसहरूलाई पुनः स्थापित र पुनर्निर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ ।’’

गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनुभयो ।