• ५ मंसिर २०८१, बुधबार

त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा

blog

बाढीले झोलुङ्गे पुलमा पुर्‍याएको क्षति । फाइल तस्बिर

गोरखा, असोज १२ गते । अविरल वर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।

गोरखा र धादिङ तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले शनिबार बिहान गोरखाको सहिद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको उहाँले बताउनुभयो । बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो ।

सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ छ । बाढीका कारण गोरखाको सहिद लखन–३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेका छन् ।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिका–७ धवादीघाट र धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको उहाँले बताउनुभयो । उक्त झोलुङ्गे पुल गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि भर्खरै मात्र मर्मत गरिएको थियो ।

सोही ठाउँमा रहेको अर्को एक झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । बाढीको जोखिममा रहेका सबै पुलबाट अहिले आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ । रासस