• १२ असोज २०८१, शनिबार

बस्तीमा नारायणी छिरेपछि सय बढी घर डुबानमा

blog

डुबानमा परेको बस्ती । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज १२ गते । लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी बस्तीमा छिरेको छ । नदी बस्तीमा पसेपछि गैँडाकोटका करिब सय बढी घर डुबानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुलभन्दा पूर्व–उत्तरतर्फ रहेको गैँडाकोट –२ को बोटे टोल र सुकुम्वासी बस्ती डुबानमा परेको हो । त्यहाँका करिब एकसय बढी घर डुबानमा परेको नवलपुर प्रहरीले जनाएको छ । 

प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि ढुङ्गा र एक्स्काभेटर प्रयोग गरिरहेको जनाएको छ । डुबानमा परेका बस्तीका बासिन्दालाई उद्धार गरी महेन्द्र स्मारक आधारभूत विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

नारायणी नदीको जल सतह हालसम्मकै उच्च भएपछि तटीय क्षेत्र डुबानमा परेको हो । लगातारको वर्षाले शनिबार बिहानदेखि नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ । जल मापन केन्द्र देवघाटमा बिहान नारायणी नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको थियो । 

पानीको सतह अझै बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।