• १२ असोज २०८१, शनिबार

खुल्यो विश्वविद्यालयको ताला

blog

घोराही समाचारदाता

घोराही, असोज १२ गते । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा विद्यार्थी तथा आंशिक प्राध्यापक सङ्घले लगाएको ताला तीन महिना आठ दिनपछि खुलेको हो ।

१५ दिनको निरन्तर वार्ता र छलफलपछि बिहीबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयलगायतका विभिन्न शाखामा लगाइएका ताला खोलिएको विश्वविद्यालयकातर्फबाट वार्ता टोलीका संयोजक प्राध्यापक योगराज शर्माले जानकारी दिनुभयो । वार्ता टोली संयोजक शर्माका अनुसार विभिन्न विद्यार्थी सङ्गठन र आंशिक प्राध्यापकका माग सम्बोधनका लागि विश्वविद्यालय सहमत भएपछि ताला खोलिएको हो ।

आयुर्वेद चिकित्सा अध्ययनरत विद्यार्थीका लागि अस्पताल निर्माणका लागि तत्काल प्रस्तावना निर्माण गरी अघि बढाउने, ओपिडी कक्ष तत्काल सञ्चालन गर्ने, विद्यार्थीले पाउँदै आएको इन्टर्नसिपलाई निरन्तरता दिने, दुई करार शिक्षकको करार नवीकरण गर्ने र विश्वविद्यालयमा देखिएको आर्थिक तथा नीतिगत भ्रष्टाचारका विषयमा सबै सरोकारवाला पक्षलाई सचेत गराउँदै छानबिन गर्ने सहमतिपछि ताला खोलिएको वार्ता टोली संयोजक प्राध्यापक शर्माले बताउनुभयो । 

संयोजक शर्माका अनुसार अब दैनिक प्रशासनिकसँगै अन्य काम नियमित हुने छन् । बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी सङ्गठन तथा आंशिक प्राध्यापकले असार २ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै विभिन्न शाखामा तालाबन्दी गरेका थिए । 

तालाबन्दी हुँदा विश्वविद्यालयमा गत आर्थिक वर्षको हिसाबकिताब मिलान तथा भुक्तानीसमेत हुन सकेको थिएन । तालाबन्दीका कारण शैक्षिक गतिविधि तथा परीक्षाका कामसमेत प्रभावित हुने गरेका थिए । तालाबन्दीका कारण दाङ देउखुरीलगायतका विभिन्न ठाउँमा रहेको विश्वविद्यालयको सयौँ बिघा जग्गाको उचित व्यवस्थापनका लागि नेपाल सरकारबाट गठन भएको उच्चस्तरीय जग्गा व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न र जग्गासम्बन्धी विश्वविद्यालयस्तरीय अभिलेखको अध्ययन गर्न सकेको थिएन । ताला खुलेसँगै अब उक्त समितिलाई काम गर्न सहज हुने छ ।