• १२ असोज २०८१, शनिबार

गोरखापत्र समाचार प्रभाव

सडक बालबालिकाको व्यवस्थापनमा पहल

blog

तम्घास समाचारदाता

तम्घास, असोज १२ गते । गुल्मीमा रहेका सडक आश्रित बालबालिकाको व्यवस्थापनमा सरोकारवाला निकायले चासो देखाएका छन् ।  गत साउन ३१ गते गोरखापत्रमा ‘सडक आश्रित सहयोगापेक्षी बालबालिकाबाट हैरानी’ शीर्षकमा समाचार प्रकाशन भएपश्चात् उनीहरूको उचित व्यवस्थापन गर्न सरोकारवाला निकायले चासो दिएका हुन् ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार उनीहरूलाई बोलाएर कुन पालिकाका हुन् र उनीहरूको समस्या के हो भन्ने बारेमा सोधपुछ गरिएको छ । खत्रीले इस्मा गाउँपालिकाका–६, धुर्कोटका चार, मदानेका तीन र तीन जनाका बारेमा पहिचान नभएको बताउनुभयो । पहिचान भएका उनीहरूका परिवारलाई बोलाएर अब छलफल गर्ने गरी आफूहरूले तयारी गरेको उहाँले बताउनुभयो । घरपरिवार र आफन्तले उनीहरूको व्यवस्थापन र रेखदेख नगरेमा नगरपालिकाले व्यवस्थापन गर्ने गरी नगरप्रमुखबाट आश्वासन आएको उहाँको भनाइ छ । 

यता इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले उनीहरूको व्यवस्थापनका निम्ति रेसुङ्गा नगरपालिकासहित मदाने, धुर्कोट र इस्माले एउटै नीति बनाउन आवश्यक रहेको बताउनुभयो । सडक आश्रित बालबालिकाका अभिभावकले न्यून ज्यालामा सदरमुकाममा काम गर्ने र उनीहरूका बच्चालाई उचित स्याहारसुसारका साथै समयमै विद्यालय पठाउन नसकिएका कारण समस्या उत्पन्न भएको हुन सक्ने उहाँको भनाइ छ । 

धनीका बालबच्चालाई गाडी पठाएर विद्यालयमा पढाउने र गरिबका बच्चा पढ्नबाट वञ्चित हुने भएकाले सदरमुकाममा रहेको रेसुङ्गा नगर नै यसमा बढी जिम्मेवार हुनुपर्ने उहाँको तर्क छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले तीन जना अभिभावकविहीन भएको पाइएकाले उनीहरूको उचित व्यवस्थापन नगरले गर्ने बताउनुभयो । सडक आश्रित बालबालिकाबाट तम्घासवासी हैरानसमेत हुने गरेका छन् । 

उनीहरूले पार्किङ गरेर राखेका सवारीसाधनमाथि तोडफोड गर्ने, तम्घासमा रहेको थ्री डी पार्कका संरचनामा तोडफोड गर्ने, प्रशासनमा सेवा लिन आएका सेवाग्राहीबाट जबरजस्ती पैसा माग्ने, सेवाग्राहीले खाजा खाँदै गर्दा उनीहरूको खाजा खोसेर खाने र नदिए उनीहरूलाई ढुङ्गासमेत प्रहार गर्ने गरेका छन् । यसअघि १८ जना सडक बालबालिकालाई व्यवस्थापन गर्न भन्दै सात लाख रुपियाँभन्दा बढी खर्च भइसकेको र उनीहरूको अवस्था अहिले जस्ताको तस्तै रहेको पाइएको छ ।