• १२ असोज २०८१, शनिबार

झापामा खोलाले बगाएर ३ जना बेपत्ता

blog

विष्णुप्रसाद पोखरेल

दमक, असोज १२ गते । दुहिदिन अघिदेखि लगार वर्षाका कारण झापामा विभिन्न खोलामा आएको बाढीले बगाउँदा एक बालिका सहित ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता बनेपछि खोजी कार्य तीव्र बनाइएको छ ।

कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्सिया नेहारिका राजवंशी खोलामा डुबेर बेपत्ता बनेको प्रहरीले जनाएको छ । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा शुक्रवार दिउँसोदेखि साइकलसहित बेपत्ता भएपछि खोजी कार्य तीव्र बनाइएको छ ।

यसै गरी  शुक्रवार साँझ कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलाले बगाउँदा बेपत्ता बन्नु भएको छ । खोलामा माछा मार्ने क्रममा उनी खोलाले बगाउँदा चौधरी बेपत्ता बनेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय गौरादहको टोली खोजी कार्यमा संलग्न रहेको छ ।

यता गौरीगंज गाउँपालिका वडा नं. ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट हामफालेका एक जना बेपत्ता बनेको प्रहरीले जनाएको छ । गौरीगंज २ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने ५० वर्षीय मालाल ताजपुरिया हाम फालेर बेपत्ता भएको प्रहरीको भनाई छ ।

बेपत्ता ३जनाको नै खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।