• १२ असोज २०८१, शनिबार

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो, जुगेडीमा सडक भासियो

blog

घोप्टेभीरमा गएको पहिरो । फाइल फोटो

शालिग्राम नेपाल 

चितवन, असोज १२ गते । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जादा शनिबार रातिदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

पहिरोको जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सवारी साधन चलाउन रोक लगाएको थियो । सवारी साधन चलाउन रोक लगाएको कारण राति आएको पहिरोले जनधनको क्षती हुनबाट बचेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

राति र बिहान ४ बजे आएको पहिरोले मुग्लिन नारायणगढ सडकको मौवाखोला, दतिखोला,पानीधारा, नौकिलो, घोप्टेभीर, जुगेडीमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । मुग्लिन कुरिनटार सडक अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा पहिरो आएर बिहान ४ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । दुइवटा स्काभेटरले पन्छाउने काम भएपनि भारी वर्षा जारी रहेकाले तत्काल खोल्न सक्ने अवस्था नभएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । 

मुग्लिन सडक अन्तर्गत नौकिलोमा २ फिट तल सडक भासिएको र भासिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भासिएको सडकमा जुगेडीदेखि मुग्लिन तर्फ आउदै गरेको प्र.३–०१–०२४च ३०५६ नं.को बलेरो जिप फसेको छ । भासिएको स्थानमा फसेको बलेरोलाई तान्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।