• १२ असोज २०८१, शनिबार

जनशक्ति अभावमा पनि सेवा

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), असोज १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा दक्ष जनशक्ति र भौतिक पूर्वाधार अभाव हुँदा पनि वार्षिक रूपमा करिब ७४ हजार जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।  गत आर्थिक वर्षमा बेनी अस्पतालबाट ७२ हजार ९३० जनाले बहिरङ्ग (ओपिडी) सेवाबाट स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ । 

यसअघि आव २०७९/८० मा ५० हजार २८१  र आव २०७८/७९ मा ४० हजार ११० जनाले ओपिडी सेवाबाट स्वास्थ्य उपचार गराएका थिए । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलो पटक गत वर्षको कात्तिकबाट बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म १३ घन्टे बहिरङ्ग सेवा विस्तार गरेको थियो । 

शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घन्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. अञ्जु थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक, स्वास्थ्यकर्मी, साधनस्रोत र भौतिक पूर्वाधारको अभाव छ । विभिन्न कठिनाइ, चुनौती र समस्या भए पनि प्रभावकारी रूपमा सेवा प्रवाह गरेका छौँ ।”

अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले साँघुरो भौतिक पूर्वाधार र सीमित स्रोतसाधनबिच विस्तार भएको ओपिडी सेवाले बिरामीलाई सहज भएको बताउनुभयो । गत वर्ष सात हजार ५७२ जनाले अस्पतालको आकस्मिक सेवा लिएका छन् भने दुई हजार २६५ जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेको उहाँले बताउनुभयो । 

त्यस्तै गत वर्ष कुल ३७० महिला बेनी अस्पतालमा सुत्केरी भएकामा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाँले जानकारी दिनुभयो । गत वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य शल्यक्रिया गरिएको छ भने नौ हजार ६३६ जनाले युएसजी सेवा लिएका छन् । चार हजार १३ जनाले इसिजी सेवा लिएकामा १५ हजार ८९५ जनाले एक्सरे सेवा पाएका छन् । 

अस्पतालको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेकाले भौतिक पूर्वाधार र जनशक्ति अभावबिचमा सेवा विस्तार गरी बिरामीलाई सहजता प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । उहाँले अस्पतालमा मेसिन उपकरणको बन्दोबस्त गर्ने काम भइरहेको भए पनि भवनको पूर्वाधारले पूर्णता नपाउँदा सेवालाई थप विस्तार र स्तरीकरण गर्न समस्या भएको जानकारी दिनुभयो । 

विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भए पनि अस्थायी भौतिक संरचना थप गरेर अहिले ७८ शय्या पु¥याइएको छ । अस्पतालमा स्वीकृत स्थायी दरबन्दी ५९ रहे पनि हाल जम्मा २६ जनाको मात्रै पदपूर्ति भएको छ । 

अस्पतालको सेवालाई सञ्चालन गर्न अस्थायी र करारमा समेत नियुक्त गरेर हाल अस्पतालमा १२० जना कार्यरत रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा मानसिक रोग, महिला तथा प्रसूति रोग, जनरल फिजिसियन, बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरीलगायत विशेषज्ञ सेवाका साथै मिर्गौला रोगका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालन हुँदै आएको छ । 

समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको क्षमता विस्तारले सेवाग्राही बिरामीलाई सहज हुने बताउँदै अस्पतालमा निर्माणाधीन सुविधासम्पन्न भवनलाई पूर्णता दिलाउन निर्माण व्यवसायी र सङ्घीय सरकारलाई दबाब दिएको बताउनुभयो ।