• ९ मंसिर २०८१, आइतबार

कुलेखानी जलाशयको गेट खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

blog

गेट खोलेपछि बगेको पानी । तस्बिर : कुलेखानी जलविद्युत केन्द्र

काठमाडौँ, असोज १२ गते । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । 

जलाशयमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको छ ।

पानीको सतह बढ्नथालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ । 

केन्द्र प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका  ढोका आंशिक रूपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रूपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गर्नुभयो ।

बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थानीय बासिन्दाहरू समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।