• १२ असोज २०८१, शनिबार

पर्यटकलाई मन्थलीमा स्वागत

blog

४५ औँ विश्व पर्यटन दिवसका अवसरमा रामेछापको मन्थली विमानस्थलमा पर्यटकको स्वागत गरिँदै ।

रामेछाप समाचारदाता

रामेछाप, असोज १२ गते  । ४५ औँ विश्व पर्यटन दिवस रामेछापमा सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकको स्वागत गरी मनाइएको छ । ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थलमा सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट आएका पर्यटकलाई स्वागत कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको हो ।

रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घले मन्थली विमानस्थल आसपासका क्षेत्र सरसफाइ गरी सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली विमानस्थलबाट लुक्ला जान विभिन्न देशबाट आएका पर्यटकलाई स्वागत गरेको हो । 

लुक्ला जान मन्थली विमानस्थल आएका पर्यटकलाई खादा लगाएर स्वागत र विमानस्थल आसपासका क्षेत्रको सरसफाइ कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कविन्द्र लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्धन गर्ने उद्देश्यले होटेल सङ्घको आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो । कोरोना महामारीपछि पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किने क्रममा छ । स्वागत कार्यव्रmमबाट मन्थलीका होटेलले प्रदान गरिरहेका सेवा सुविधाका बारेमा पर्यटकसँग सुझाव पनि लिएका छौँ ।”

पर्यटन क्षेत्रको व्यापक प्रवर्धन र बजारीकरणलाई तीव्रता दिन आवश्यक रहेको रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घका पूर्वअध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “रामेछाप पर्यटन क्षेत्रमा ठुलो सम्भावना छ । अब तिनै तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्छ । पर्यटन  प्रवर्धन र पूर्वाधारको विकास गरी अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ सबै लाग्नु पर्छ ।”

मन्थली–लुक्ला उडान अवरुद्ध

केही दिनअगाडिबाट सुरु भएको मन्थली–लुक्ला उडान मौसममा आएको खराबीले रोकिएको छ । खराब मौसमका कारण उडान हुन नसक्दा सगरमाथा क्षेत्र भ्रमणका लागि लुक्ला जान मन्थली आएका पर्यटक रोकिएका छन् । 

नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण्य साहले भन्नुभयो, “यो याम सुरु भएपछि गत बुधबार सबैभन्दा बढी २३ वटा मन्थली–लुक्ला उडान भएका छन् । मौसममा आएको खराबीले अहिले उडान रोकिएको छ । पर्यटकीय याममा एक दिनमा ६० वटासम्म मन्थली–लुक्ला उडान भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीको रेकर्ड छ ।” सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पु-याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलमार्फत लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । 

मन्थली विमानस्थल प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पु-याउने र ल्याउने गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार अहिले एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् ।