• १२ असोज २०८१, शनिबार

त्रिदिवसीय मौलिक रैथाने लोकनृत्य कार्यशाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । काठमाडौँमा त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत् सांस्कृतिक सङ्गोष्ठी २०८१’ सुरु भएको छ । राष्ट्रिय नृत्य सङ्घ नेपालले आयोजना गरेको गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाचको प्रशिक्षण दिइएको थियो भने देशका विभिन्न क्षेत्रबाट आउनुभएका छ दर्जनभन्दा बढी कलाकार र प्रशिक्षकले नृत्य सिकाउनुभएको थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ र नृत्य निर्देशक भीम मास्के रानाले मगर समुदायको जिवैमामा लोकनाचको प्रशिक्षण दिनुभएको थियो । 

“जिवैमामा मगर समुदायको जीवनशैलीमा आधारित लोकनाच हो । गायनमा एकपछि अर्को गर्दै चार चरणको गीत प्रस्तुतिसँगै नृत्य पनि चार चरणमा गरिन्छ । हरेक चरणको नृत्य प्रस्तुत फरक रहन्छ,” नृत्य निर्देशक रानाले बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले रैथाने नृत्य प्रशिक्षणका लागि देशका विभिन्न स्थानबाट कलाकारलाई प्रशिक्षणले लोकनाचको संरक्षणमा योगदान पुग्ने शर्माले बताउनुभयो । एकै थलोमा नृत्य कलाकारले पूर्वको साकेला र गण्डकी प्रदेशको जिवैमामा नाच सिक्नु प्रशंसनीय भएको उहाँको भनाइ थियो ।

सङ्घका अध्यक्ष महेश गोदारले पछिल्लो समय आधुनिक नृत्य सिक्न सहज भए पनि रैथाने नाचहरू हराउँदै गएकाले यस्ता नृत्य कलाकारले सिक्नु पर्छ भनेर कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार शनिबार कार्यशालामा लोकनृत्यबारे बहस र छलफल गरिने छ । छलफलमा उठेका कुरालाई कार्यपत्रका रूपमा तयार गरेर सरकारलाई बुझाउने पनि गोदारको भनाइ थियो ।