• १२ असोज २०८१, शनिबार

‘सम्मोहन’सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । लेखक राधिका कल्पितको ‘सम्मोहन’ कथासङ्ग्रह सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी हेम भण्डारी, कवि श्यामल, डा. विन्दु शर्मालगायतले लेखक कल्पितको ‘सम्मोहन’ कृतिको लोकार्पण गर्नुभएको हो । साहित्य वृत्तमा सशक्त कविको पहिचान बनाउनुभएकी लेखक राधिकाले ‘सम्मोहन’मा पितृसत्ता, आधुनिक परिवेशको अभ्यास गर्न चाहने पुस्ताबिचको सामाजिक द्वन्द्वलाई कथाको स्वरूपमा लेख्नुभएको छ । 

सो अवसरमा सञ्चारकर्मी हेम भण्डारीले ‘सम्मोहन’मा समेटिएका कथाबारे पाठकीय प्रतिक्रिया दिनुभयो । उहाँले सम्मोहनको कथाले नेपाली समाजमा सासू, नन्दआमाजू, जेठानीलगायतको भूमिकामा महिलाले नै पितृसत्ताको बिडो थाम्न देउरानी, बुहारीलगायतलाई अनेक बहानामा सताउने खेल खेलिरहेको देखाएर यहाँ पितृसत्ताको ठेक्का पुरुषले मात्र बोकेका छैनन्, महिलाले समेत सघाइरहेको बताउन खोज्नुभएकोस्पष्ट पार्नुभयो ।

हाल गाउँघर छोडेर सहर पस्ने, विविध कारणले आफन्तबिच नै भेटघाट र चिनजान नहुने हुनाले विदेश पुगेर आफन्तबिच नै ‘लिभिङ टुगेदर’ मा बस्न पुग्ने जस्ता हालको समस्यालाई ‘सम्मोहन’ ले उजागर गरेको छ । शिक्षित महिलाले घरपरिवार र कार्यालय सबैतिरको भूमिकामा काम गर्नुपर्दा महिलामाथि जिम्मेवारी बढिरहेको पनि सर्जक राधिकाले कथामार्फत यथार्थ बुझाउने कोसिस गर्नुभएको छ ।

डा. विन्दु शर्माले ‘सम्मोहन’ मा समेटिएका कथाले आजको समाजको मनोवैज्ञानिक पाटो र वास्तविकता बताउन सफल भएको बताउनुभयो ।