• ११ असोज २०८१, शुक्रबार

बजेट अभावले लुम्बिनी गुरुयोजना कार्यान्वयनमा कठिनाइ

blog

भैरहवा समाचारदाता

भैरहवा, असोज ११ गते । लुम्बिनी विकास कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको गुनासो गर्नुभएको छ । राष्ट्रिय सभाका सांसदसँग आयोजित छलफलमा उहाँहरूले बजेट अभावले गुरुयोजना कार्यान्वयनमा कठिनाइ भइरहेको बताउनुभयो । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारबाट बजेट आउन नसक्दा पूरा गर्न कठिन भएको बताउनुभयो । उहाँले पछिल्लो समय होटेल व्यवसायी, स्थानीयले विभिन्न विषयमा चासो र सरोकार राखेको तथा त्यस विषयमा आफूहरूको गम्भीर ध्यान गएको बताउँदै लुम्बिनीबाट पर्यटक आउने सन्देश दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले लुम्बिनीमा शान्ति स्तूप निर्माणका क्रममा जापानिज गुरुको हत्या जस्ता विषयले विश्व बौद्ध समुदायमा गलत सन्देश गएको बताउँदै स्थानीय सरकार, होटेल व्यवसायी र स्थानीय सबै मिलेर अघि बढ्दा मात्रै लुम्बिनी बचाउन सकिने बताउनुभयो ।  

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजनाको करिब ८५ प्रतिशत काम पूरा भएको तर स्रोत सुनिश्चित गरिएको बजेट प्राप्त नहुँदा कार्यान्वयमा समस्या भएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ मा गुरुयोजनाको कामका लागि ४९ करोड भुक्तानीको दायित्व देखिएको तर ४४ करोड मात्रै बजेट निकासा भएको बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीसँगै रामग्राम, देवदह र तिलौराकोट क्षेत्रमा समेत पुरातात्त्विक उत्खननदेखि साइटहरूलाई प्रस्तुत गर्नयोग्य बनाउन बजेटको अभाव रहेको बताउनुभयो । 

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरुयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिन बुधबार छलफल कार्यक्रम गरेको थियो । 

छलफलमा समितिका सभापति सोनाम गेल्जेन शेर्पाले लुम्बिनी गुरुयोजनाका लागि बजेट अभाव भएको तथा बृहत्तर लुम्बिनी क्षेत्रको काम गर्नका लागि लुम्बिनी विकास कोष ऐन, २०४२ संशोधनका लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा देखिएका चुनौतीसँगै गुरुयोजनाविपरीत भएका काम, स्थानीयको मागका सम्बन्धमा पनि आफूहरूको ध्यानार्कषण भएको बताउँदै यस विषयमा सम्बन्धित पक्षसँग छलफल गरी प्रतिवेदन बनाइने बताउनुभयो । सभापति शेर्पाले लुम्बिनी र सगरमाथा नै नेपालको पहिचान भएकाले सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए । 

छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले स्थानीयको मागबमोजिम स्थानीय, प्रदेश र सङ्घीय सांसदलाई समेत सहभागी गराउने गरी ऐन संशोधन गर्न सुझाव दिनुभयो । 

अन्तर्क्रियामा लुम्बिनी होटेल सङ्घ नेपालका महासचिव पुरुषोत्तम अर्याल, सल्लाहकार खिम श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिका न्यायिक समिति सदस्य अहमद खान, लुम्बिनी बचाउ अभियान संयोजक आक्राम खानलगायतले लुम्बिनीमा आध्यात्मिक वातावरण कम भएको बताउँदै अब त्यसलाई बढाउनेतर्फ ध्यान दिन सुझाव दिनुभएको थियो । 

कार्यक्रममा समितिका सचिव सीता वाग्ले काफ्ले, राष्ट्रिय सभा सदस्यहरू राजेन्द्रलक्ष्मी गैरे, कृष्णबहादुर रोकाया, जगप्रसाद शर्मा, कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईलगायतको उपस्थिति थियो ।