• ११ असोज २०८१, शुक्रबार

घटस्थापनादेखि स्याउ मेला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । किसान भेन्चरले होटेल मनाङको सहकार्यमा स्याउ मेला आयोजना गर्ने भएको छ । असोज १७ देखि अर्थात् दसैँको घटस्थापनादेखि सुरु हुने सो मेला तीन दिनसम्म चल्ने भेन्चरले जनाएको छ । मेला ठमेलस्थित होटेल मनाङमा आयोजना हुने छ ।  

नेपाल एप्पल फेस्ट २०२४ नाम दिएको सो मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउ प्रदर्शन गरिने भेन्चरका प्रमुख राजेश कार्कीले बताउनुभयो । किसानलाई स्याउ उत्पादनतर्फ आकर्षित गर्न तथा स्याउको बजारीकरणका लागि यो मेला आयोजना गरिएको उहाँले बताउनुभयो । 

नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेन्ट्स, जोनाथन, फुजी, भान्स डेलिसियस, रेड गोल्ड, रेड चिफ, रेड स्पर, वेल स्पर जातका स्याउ उत्पादन हुन्छन् । मध्यम चिसोमा क्रिस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन जातका स्याउन उत्पादन हुन्छ भने कम चिसोमा अन्ना, भेरिड, ट्रपिकल ब्युटी जातका स्याउ उत्पादन हुन्छ ।  

नेपालमा उत्पादित स्याउले विभिन्न कारणले बिक्रीवितरण नभई रहेको अवस्थालाई ध्यानमा राख्दै यो मेलाले स्याउको बजारीकरणमा सहयोग पुर्‍याउने विश्वास लिएको उहाँले बताउनुभयो । नेपालमा पर्याप्त उत्पादन भए पनि ९० प्रतिशत स्याउ चीन, भारतलगायतका देशबाट आयात हुने गरेको छ । स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यले पनि यो मेला आयोजना गरिएको उहाँले बताउनुभयो । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा एक अर्ब ३८ करोड रुपियाँभन्दा बढीको स्याउ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । भन्सार विभागका अनुसार भदौ मसान्तमा एक करोड ३४ लाख ७७ हजार ७५९ केजी स्याउ आयात भएको छ । 

मुख्य रूपमा भारत, चीन र भुटानबाट स्याउ आयात हुने गरेको छ । साउन र भदौमा मात्र भारतबाट २३ करोड नौ लाख ६१ हजार, चीनबाट एक अर्ब १५ करोड २८ लाख १८ हजार र भुटानबाट २५ हजार रुपियाँको स्याउ आयात भएको छ । नेपाली बजारमा प्रतिदिन दुई करोड ३० लाख रुपियाँभन्दा बढीको स्याउ बिक्री भइरहेको छ । नेपाली स्याउको गुणस्तर र स्वास्थ्यको दृष्टिकोणले उत्कृष्ट मानिए पनि उपभोक्ताले विदेशी स्याउलाई प्राथमिकता दिने गरेका छन् । नेपालमा उत्पादन हुने स्याउ बजारसम्म नपुगेको किसानले गुनासो गरेका छन् ।