• ११ असोज २०८१, शुक्रबार

मेची राजमार्गको भञ्ज्याङ-राजदुवाली खण्डमा जोखिम कायमै

blog

मेची राजमार्गको धस्सिएको माइखोलास्थित राजदुवाली माथिको सडक खण्ड । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज १० गते । गए रातिदेखि निरन्तर वर्षा हुन थालेपछि इलामको माइखोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ । वर्षौँदेखि करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्गमा अहिले दैनिक चल्ने सवारीसाधनहरूलाई पनि राजदुवाली–भन्ज्याङ सडक खण्ड पार गर्न निकै मुस्किल हुने गरेको हो ।

आगामी चार दिनसम्म वर्षा निरन्तर हुने समाचार आएपछि जिल्लास्थित सरोकारवाला निकायमा थप चिन्ता छ । आज सम्पन्न इलामको आठौँ जिल्ला सभाले पनि यो सडकको वैकल्पिक मार्गको सम्भावना तत्काल खोज्न माथिल्लो निकायमा आग्रह गर्ने प्रस्ताव अघि सारेको जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले बताउनुभयो । उक्त सडक खण्डको वैकल्पिक सडक निर्माणका लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ । "रातो किताबमा उल्लेख यो वैकल्पिक मार्गलाई कसरी कताबाट खोल्ने भन्ने कुरालाई तत्काल पहल थाल्न आवश्यक छ," जिसस प्रमुख राईले भन्नुभयो, "यदि सडक अवरुद्ध भयो भने पहाडी इलाम, पाँचथर र ताप्लेजुङ तीनै जिल्लालाई सङ्कट हुन्छ ।"

इलाम नगरपालिका–१० गोदकको सिमल गोलाईदेखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग जोड्ने गरी यो रकम विनियोजित भएको प्रमुख राईले बताउनुभयो । हरेक वर्ष वर्षायाम सुरु भएपछि राजमार्गको यो खण्डमा सवारीहरू कष्टपूर्ण ढङ्गले सञ्चालन हुने गरेका थिए । यसपटक पनि यो खण्डमा सडक सुचारु गराउन पानी परेर हिलो हुनसाथ एक्स्काभेटरे सफा गरेर यातायात सहज गराउने गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । 

पछिल्लो पटक सडक हिलाम्य भएपछि पुनः निरीक्षणमा पुग्नु भएका सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले यो सडक खण्डमा करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्गलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा समाधान गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

केही दिनअघि यो सडकमा भ्वाङ परेर डिभिजन कार्यालयले ढुङ्गा हालेर भ्वाङ पुरेको थियो ।