• ११ असोज २०८१, शुक्रबार

जिल्ला प्रहरी बाँकेद्वारा १० करोडभन्दा बढी राजश्व असुली

blog

नेपालगन्जमा पक्राउ परेका हुण्डी कारोबारी । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज १० गते ।
 भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा जिल्ला प्रहरी कार्यालयले विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्षमा १० करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन गरेर दाखिला गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सीमा नाकासँग जोडिएको जिल्ला भएकाले अवैध आयातलगायत अन्य विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्ष २०८०/०८१ मा १० करोड २६ लाख १२ हजार ३८४ रुपियाँ राजश्व असुली गरिएको हो ।

उहाँले राजश्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी सो रोक्न प्रभावकारी रूपमा कार्य गर्दै प्रहरीले तस्करी नियन्त्रण गर्न निरन्तर सक्रिय रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले असुली गरेको १० करोडभन्दा बढीको रकम भारतबाट चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतका शीर्षकबाट असुली गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा अवैध रूपमा भन्सार छली तथा बिलबीजक नभएका अवैध सामानहरू पक्राउ गरेर चार करोड ५५ लाख ४ हजार ६४३ रुपियाँ सङ्कलन गरिएको छ ।

सोही प्रकारले ट्राफिक कारबाहीबाट दुई करोड ६५ लाख ७६ हजार ५४६ रुपियाँ राजश्व सङ्कलन गरिएको थियो भने फरार प्रतिवादीहरूलाई पक्राउ गरेर उनीहरूबाट एक करोड ९६ हजार ९२६ रुपियाँ असुल गरिएको थियो ।

यसैगरी सोही अवधिमा स्रोत नखुलेको एक करोड ६४ लाख २८ हजार तीन सय रुपियाँ बरामद गरिएको, हुन्डी कारोबार गर्नेहरूबाट २४ लाख ६२ हजार ३१५ रुपियाँ बरामद गरिएको, अवैध बोइलर कुखुरा पक्राउ गरेर ११ लाख ३६ हजार सात सय रुपियाँ सङ्कलन गरिनुका साथै नदीजन्य पदार्थ दोहनबाट चार लाख १० हजार रुपियाँ असुल गरिएको थियो ।

पछिल्लो समयमा प्रहरीले बाँके जिल्लामा विभिन्न अभियानहरू सञ्चालन गरेर अवैध तथा गैरकानुनी कार्यहरू नियन्त्रण गर्ने कार्य गर्दै आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले ती अभियानमा सर्वसाधारण जनताको राम्रो सहयोग मिलेको बताउनुभयो ।

प्रहरीले निरन्तर प्रयास गर्दै आए पनि सीमापारिबाट हुँदै आएको अवैध चोरी तस्करी, ट्राफिक नियम उल्लङ्घन र नदीजन्य पदार्थको दोहन भने नरोकिएको स्थानीय सर्वसाधारणको गुनासो छ ।