• ११ असोज २०८१, शुक्रबार

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

blog

पुस्कर भण्डारी
डडेल्धुरा, असोज १० गते ।
वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो ।

यस राजमार्गको डोटी जिल्लामा पर्ने घोरडी र गोगनपानी खण्डमा मा पहिरो खसेपछि बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बिहानैदेखि पहिरो पन्छाउन थालिएपछि राजमार्ग सुचारु भएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रु बोकेका सवारीका साधन, मालबाहक ट्रकसँगै बिरामी बोकेका एम्बुलेन्स रातभरि नै रोकिएका थिए । 

यस्तै, डडेल्धुरा–डोटी जाड्ने केआई सिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ । डडेल्धुराको रडुवामा पहिरो खसेपछि यो राजमार्ग अवरुद्ध भएको थियो । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मङ्गलबार साँझदेखि मनसुन पुनः सक्रिय हुने र देशभर वर्षा हुने जल तथा मौसमविज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको पूर्व जानकारी अनुसार डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाहरुमा वर्षा भइरहेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि एक सूचना जारी गर्दै वर्षा हुने भएकाले सतर्कता अपनाउन र पूर्व तपारी अवस्थामा रहन स्थानीयहरुलाई आग्रह गरेको थियो ।

मनसुन सक्रिय भएसँगै भइरहेको वर्षाले भित्र्याउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा असर पुगेको छ । धान भित्र्याउने समयमा भएको वर्षाले किसानलाई क्षति पु र्‍य ाएको छ ।