• ११ असोज २०८१, शुक्रबार

पहिरोबाट निस्किए चमकदार ढुङ्गा

blog

पुर्चौडी नगरपालिका–८ स्थित लामुनीको पहिरो र त्यहाँबाट निस्केका सिसा जस्ता चमकदार डल्ला । तस्बिर सौजन्य : लोकेश साउद

बैतडी समाचारदाता 

बैतडी, असोज १० गते । पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् । आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाकार डल्लाको दुवैतर्फ चुच्चो रहेको छ । पहिरोबाट निस्केका पारदर्शी डल्ला सिसा, पत्थर वा अन्य के हो ? भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ । 

पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा २०५२ सालदेखि अहिलेसम्म निरन्तर पहिरो खसिरहेको छ । पहिरोले ४० परिवारको घरखेत बगाइसकेको छ । त्यसयता निरन्तर पहिरो खस्दा ९५ परिवार जोखिममा छन् । पहिराले दुई वटा पहाड नै तहसनहस बनाएको छ । गत वर्षसम्म पहिरोबाट बारुदको जस्तो गन्ध आउँथ्यो । यो वर्ष भने सिसा जस्ता चमकदार डल्ला निस्कन थालेको स्थानीय लोकेश साउदले बताउनुभयो । 

पहिरोले स्थानीय डणपुर, लामुनी, चिमडा, टुणेत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोटलगायत गाउँ जोखिममा छन् । खानेपानीको मुहान पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ । दुई वटा नहर बगाउँदा खेत बाँझै छ । पहिरोका कारण स्थानीय केदार मन्दिरसमेत जोखिममा परेको स्थानीय हरिश साउदले बताउनुभयो । 

यहाँ बर्खामा मात्रै होइन, हिँउदमा समेत पहिरो खस्दा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ । यो वर्ष भने सिसा जस्ता चमकदार पारदर्शी डल्ला निस्कन थालेपछि स्थानीयले खोज अनुसन्धानको माग गरेका छन् । भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइट जस्ता खानी पत्ता लगाइसकेको छ ।  

लामुनीको पहिरोमा पनि महत्वपूर्ण खनिज वा अन्य खानी हुन सक्ने स्थानीयले बताएका छन् । 

भूगर्भविद्ले पहिरोको अनुसन्धान गर्ने हो भने कमरेपानीको पहिरोमा बहुमूल्य धातु वा पत्थर फेला पर्न सक्ने स्थानीयको भनाइ छ । कमेरपानीको पहिरोबाट बर्खामा लेदो बग्ने गरेको छ भने हिउँदमा सफा पानी देखिए पनि त्यसमा फिँज आउने गरेको छ ।        

पहिरो खस्दा दुर्गन्ध आउने, पानीमा फिँज तस्तो पदार्थ देखिने र अहिले चमकदार डल्लो फेला परेको विषयमा नास्टका वैज्ञानिक डा. भोजराज पन्तले खानी तथा भूगर्भ विभागको टोलीलाई स्थानीय तहले खोज अनुसन्धानका लागि माग गर्नुपर्ने बताउनुभयो । खानी नै पत्ता लागेको खण्डमा पहिरोले निम्त्याएको दुर्भाग्य भोलि सौभाग्य बन्न सक्ने स्थानीयको भनाइ छ ।