• ११ असोज २०८१, शुक्रबार

चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा

blog

जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रण लिएको व्यक्ति । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, असोज ९ गते ।
गोरखामा योजनाबद्ध ढङ्गबाट सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्री लुटपाटमा संग्लग्न गोरखाको शहिद लखन गाउँपालिका – ९ नाम्जुङका ३८ वर्षीय  सुनिल बिक र ललितपुर उपमहानगरपालिका – १६ का ३७ वर्षीय शैलेश ताम्रकारलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार झण्डै २ महिनाको अबधिमा एउटै प्रकृतिका २ वटा घटना सदरमुकाममै हुन थालेपछि प्रहरीले विषेश सुरक्षा रणनीति योजना बनाएर चोरीमा संलग्नको खोजी कार्य तीव्र गरिएको र छुट्टै अनुसन्धान टोली गठन गरी परिचालनपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो ।

गत साउन २३ गते गोरखा नगरपालिका–५ रोहेटेपानीमा ७५ वर्षीय रत्नकुमारी मग्रातीको घाँटीबाट करिब ५ बजेको समयमा कालो स्कुटरमा आएका २ युवाले दुई तोलाको सिक्री लुटेर फरार भएका थिए ।

त्यसको एक महिनापछि भदौ २३ गते पुन त्यस्तै प्रकारको घटना दोहोरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, उहाँले सदरमुकामको छहरेस्थित बालमन्दिर माध्यिमक बिद्यालय नजिक बाख्रा चराउदै गर्नु भएकी ६३ वर्षीया दाउरी मायाँ रानाले लगाएको दुई तोलाको सिक्री चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाउदा चोरीमा संलग्नलाई गोरखा नगरपालिका – ९ लक्ष्मिबजारमा सोमबार पक्राउ गरिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले चोरीमा संलग्न भएको कालो रङ्गको स्कुटर व्यापाक खोजी गरिरहेका बेला सोही स्कुटर र दुई जना युवा आँबुखैरनीबाट गोरखातर्फ आउँदै गरेको विशेष सूचनाका आधारमा  प्रहरी टोलीले चारैतिरबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउपछि दुबै जना चोरीमा संलग्न भएको अनुसन्धनबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताउनुभयो । उनीहरु दुबै जनाविरुद्ध चोरीसम्बन्धी कसुर शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।