• ६ पुस २०८१, शनिबार

संवेदनाका अनेक छाल

blog

समालोचकका रूपमा स्थापित एवं निबन्धकार ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ (२०८०) पढ्दै जाँदा सर्वप्रथम नारीवादी भावना चेतनाले समृद्ध निबन्धसङ्ग्रह लाग्यो । यसमा रहेका ३७ वटै निबन्धले पुस्तकको मूल शीर्षकलाई सम्बोधन गरेको देखिन्छ र यी निबन्धमा सङ्कीर्ण संस्कार र परम्पराका विरोधमा संवेदनाका अनेक छालको समायोग भएको पाइन्छ ।

हाम्रा धार्मिक तथा सांस्कृतिक परम्परामा रहेका विरोधाभासयुक्त पक्षहरूलाई यसमा कलात्मक किसिमबाट केलाइएको छ । देशको विधानले नारी र पुरुषलाई समान अधिकार प्रदान गरेको छ तर त्यो व्यवहारमा चरितार्थ भइरहेको छैन । त्यही विभेदजन्य स्थितिप्रति लेखिका ज्ञानुले आफ्नो ज्ञान र चेतनाको भरपुर उपयोग गर्दै नारीका बारेमा सुन्दर बहस गर्नुभएको छ । यो कृति मूल रूपमा निबन्धसङ्ग्रह हो । संवेदनै संवेदनाको प्रस्तुतिले त्यो साबित गरेको छ तापनि प्रस्तुतिमा लेखिकाको समीक्षात्मक चेत पनि त्यत्तिकै सशक्त भएर देखा पर्छ । 

उहाँले आजको अध्ययन वर्गीय, प्रबुद्ध नारीमा आइपर्ने विघ्नबाधा र चुनौतीहरूको यथार्थ विवरण प्रस्तुत गरेर आफ्नो अस्तित्व र स्वाभिमानलाई सगौरव प्रस्तुत गर्नुभएको छ । लेखिकाले आफ्नो लेखनमा एउटी स्रष्टाका रूपमा उभिँदा जे जस्ता समस्या अनुभूत गर्नुभएको छ, ती उहाँका मात्र समस्या नभएर हरेक नारीका साझा समस्या हुन् । लाज, सङ्कोच र चेतनाको कमीका कारण कतिपयले व्यक्त गर्न नसकेका होलान् तर यहाँ लेखिकाले अन्तर्तहमा पुगी नारी भएर बेहोर्नु परेका अनेक कठिनाइलार्ई स्पष्ट रूपमा उजागर गर्नुभएको छ । उहाँ सशक्त नारी वर्गका चेतना जागरणकी अभियन्ता बन्न पुग्नुभएको छ । 

यस कृतिमा अनुभव र चेतना समृद्धिका अनेक पत्र छन् तापनि नारीवादी भावना र चिन्तनले यो कृति विशेष समृद्ध बनेको छ । यसमा उठाइएका प्रश्न धारिला र तेजिला छन् । नारीवाद भनेको एक अहङ्कारजन्य प्रवृत्ति हो भन्ने जे लाग्थ्यो, यो पुस्तक पढेपछि साँच्चिकै पाठक पनि नारीप्रति सहानुभूतिशील र विचारशील बन्न पुग्छन् । आफ्ना तर्क र भावनाले पाठकको मन जितेर त्यसलाई मोड्न सक्नु लेखकको सफलता हो र नारीवाद बुझ्नका लागि पनि यो कृति नारीवादी लेखिकाको नारीगीता नै हो भने पनि हुन्छ । यसर्थ पुरुष लेखक र पाठकका निम्ति पनि यो निकै ऊर्जाप्रदायक कृति हो भन्ने देखिन्छ । मानिस आफ्नै किसिमको समाजमा बाँचिरहेको हुन्छ र ऊ आफ्नै परिस्थिति सापेक्ष हुन्छ । ऊ जस्तो परिस्थितिबाट गुज्रिन्छ, त्यस्तै संवेदनाले संवेदित हुन पुग्छ । जीवन यात्रा हो भने ऊ स्वभावैले गतिशील र क्रियाशील रहन्छ । त्यसै क्रममा उसमा विभिन्न संवेदना जागृत हुन्छन् । यस कृतिकी लेखिकाको पनि यही स्थिति छ । उहाँ आफ्नो यात्रामा रहँदा जागृत भएका संवेदनाबाटै निबन्धका विभिन्न स्वरूप सृजित भएका छन् ।

कतै स्पर्श, कतै डायरी, कतै अनुगुञ्जन, कतै क्यानभास, कतै पाइला, कतै विस्तार, कतै अक्षर र शब्दमा विभाजन गरेर व्यवस्थापन गरिएका संवेदनाहरूले आफ्नै प्रभाव र प्रेरणा प्रदान गर्न सक्षम छन् । सबै प्रकृतिका निबन्ध समावेश गरिएको यस कृतिका निबन्धमा भावना र चिन्तनको मनोरम क्रीडा अनुभूत हुन्छ । विगतका विषादजनक संवेदना जागृत गरेर प्रस्तुत गर्ने क्रममा भने सत्यलाई स्पष्ट रूपमा दर्साउनुभएको छ । यो लेखिकाले पाठकप्रति र आफैँप्रति पनि गरेको न्याय हो भन्ने लाग्छ । चोरडाँका पनि त्यतिविधि अन्यायी हुँदैनन्, जति उहाँहरूले सहनु र बेहोर्नु परेको थियो । फलेको बाली लुटेर खेतै बाँझो गराइदिने र बसेको बास नै उडाइदिने जस्तो दुष्कार्य गर्ने अन्य कोही नभएर उहाँकै कोही पारिवारिक सदस्य हुन सक्छ भन्ने अड्कल गर्न सकिन्छ । यो तथ्य सत्यलाई गुप्त राख्नमा पनि लेखिकाका आफ्नै विवशता होलान् । 

कृतिभित्र भाषा र संवेदनाको अपूर्व मेल छ । त्यसले पाठकलाई तान्दै जान्छ । कतै स्थितिशील दर्शन, कतै गतिशील विवरण, कतै व्यङ्ग्यको रोचकता, कतै नैबन्धिक मोहकता, कतै स्मृतिमय संवेदनाका मनोरम लहर, जस्तो विषय र सन्दर्भ त्यस्तै प्रकृतिको शैली र संरचना । विविध संवेदनाभित्र प्रस्तुतिको आफ्नै छटा, चिन्तनको आफ्नै मौलिकता प्रयोग गरेर विविध ढाँचाका साँचामा ढालिएका कथाले उत्सुकता र रोचकतालाई जीवन्त तुल्याउँदै आफ्नै प्रभाव र आकर्षणको सौन्दर्य सृष्टि गरेको देखिन्छ । लेखन वा अभिव्यक्तिमा कतै कोरा वा सिकारूपन झल्किन्न । जति पढ्यो उति मनन गर्नुपर्ने प्रश्न र संवेदनाले प्रौढ र परिपक्वपन प्रकट गरेको पाइन्छ । सायद चिन्तनको गहनता र समीक्षा कर्मको अभ्यासले खारिएको र माझिएको स्थिति देखिन्छ । शैली र सिपको उत्कृष्ट प्रयोगले प्रत्येक वर्णित विषय सुन्दर स्वरूपमा ढालिएको पाइनु मौलिकताको स्पष्ट पहिचान हो भनी बुझ्न सकिन्छ ।

लेखकभित्र मौलिक क्षमता र सिप भएपछि विषय प्रस्तुतिको क्षमता कहाँ पर्ने रहेछ र । आफ्नै दैनिकी, आफूवरपरको गतिविधि र परिवेशप्रति चिन्तनमनन गरेपछि निबन्धका सुन्दर स्वरूप सृजित हुने रहेछन् । ज्ञानुका निबन्ध यसैका अनुपम दृष्टान्त हुन् । कतै मनोवाद, कतै संवाद, कतै जिज्ञासा र कतै गूढ प्रश्नहरूको शृङ्खला बुन्दै गएपछि कलाले आफ्नो बाटो आफैँ देखाउँदो रहेछ । साँच्चै भन्दा संवेदनाको परख गरेर त्यसलाई नैबन्धिक साँचोमा ढाल्न जान्ने शैली र स्वभाव स्थापित भइसकेको रहेछ । सौन्दर्यबोध गर्न लेखिकाकै प्रवृत्ति र संवेदनाले लेखिकालाई सिकाएपछि लेखिकाबाट निबन्धका सुन्दर हरफ तोरण झैँ सुन्दर र आकर्षक बनेर झल्ँिकदा रहेछन् । 

यस कृतिले ज्ञान र अनुभवको क्षितिज विस्तृत गर्छ । यसभित्र जीवनदर्शन र व्यवहारका अनेक सुन्दर पक्ष भित्रिएका छन् । जीवन भोगेर आफैँबाट संवेदना जगाउन सकिएन भने लेखक हुन्छु भनेर के प्रयास गर्नु ? संवेदनाविहीन हुँदा जीवन कति शुष्क र नीरस बन्छ, यो कृति पढेपछि बोध हुन आउँछ । स्वतन्त्रतालाई सर्वाधिक प्रिय मान्ने लेखिकाको धारणा र विचार जति पढ्यो उति रुचिकर र प्रियकर लाग्ने प्रकृतिका छन् । आफ्नो भावना, विचार र धारणाले पाठकको मनमस्तिष्कलाई तरङ्गित र झङ्कृत तुल्याउनु निबन्ध सृजनको सार्थकता हो । जसले स्वतन्त्रताको महìव बुझ्छ, उसले आफ्नो कर्तव्य र दायित्वलाई बिर्सेको हुँदैन । यस्तै यस्तै सुन्दर कुराले साँच्चिकै कृति पठनीय, मननीय र सङ्ग्रहणीय बन्न पुगेको देखिन्छ ।

ज्ञानुका निबन्ध अनुभववर्धक मात्र नभई ज्ञानवर्धक पनि छन् । यहाँ संवेदनाहरूको समायोग भनिएको छ तर समायोग संवेदनाहरूको मात्र होइन; उपविधाहरू जस्तै संस्मरण, नियात्रा, निबन्ध, लेख, समीक्षाहरूको पनि समायोग भएको छ । नियात्रा होस् कि संस्मरण, निबन्ध होस् कि समीक्षात्मक लेख, विचार होस् कि दर्शन– सबैको प्रौढ र परिपक्वस्तरमा समायोग भएको छ । समग्र उपविधा शक्तिशाली भावना र विचारले सम्पुष्ट भई चित्रण कौशलताले सिँगारिएका छन् । साहित्यको सामयिक दिशा र अवस्थालाई दर्साउनु पनि यसको थप विशेषता हो । यसमा सङ्गृहीत खँदिला, गहकिला, सारभूत सामग्रीले विधागत सचेततासहित साहित्यिक ऊर्जा प्रदान गर्छन् । नेपाली निबन्ध परम्परामा गौरव गर्नयोग्य नारी हस्ताक्षर भएकोमा सराहनाका जति शब्द खर्च गरे पनि खेर गएको अनुभूति हुँदैन । कुरा त धेरैले लेख्छन् । कुरा नै त निबन्ध पनि होइन । संवेदनालाई यसरी रङ्गीन तुल्याएर प्रस्तुत गर्नु सृजन प्रक्रियाकै गम्भीर चुनौती हो । कैयौँ गम्भीर चुनौती सामना गरेर आफैँले भोगेको विगतलाई नैबन्धिक आयाममा खन्याएर आफैँले लिएको परीक्षामा उहाँ खरो रूपमा उत्रिएको अनुभूत हुन्छ ।   

Author

प्रा. कपिल अज्ञात