• ११ असोज २०८१, शुक्रबार

लागूऔषध विरुद्धको तीनमहिने अभियान सुरु

blog

महोत्तरी समाचारदाता

महोत्तरी, असोज ४ गते । महोत्तरी जिल्लाको मटिहानीमा लागू औषधविरुद्धको तीनमहिने अभियान सुरुवात गरिएको छ । मटिहानी नगरपालिकामा शुक्रबार एक जनचेतनामूलक र्‍यालीकाे आयोजना गर्दै तीन महिने लागूऔषधविरुद्ध अभियानको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । 

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको सहयोगमा मटिहानीमा एक जनचेतनामूलक ¥यालीको आयोजना गदैै लागुऔषधविरुद्धको तीनमहिने अभियानको सुरुवात गरिएको जानकारी दिनुभयो । 

मटिहानी नगरपालिकाको बसपार्कमा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रुपमा र्‍यालीकाे शुरुवात गर्नुहुदै अभियानको सुरुवात गर्नुभएको हो । लागू औषधविरुद्धको अभियान अन्तर्गत विभिन्न स्थानीय तहहरुमा जनचेतनामूलक कार्यक्रमहरु गरिनुका साथसाथै लागूऔषधबाट हुनसक्ने क्षतिबारे जानकारी दिइने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । उहाँले मटिहानीमा गरिएको जनचेतनामूलक र्‍यालीमा मटिहानी नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक, शिक्षिकाहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको बताउनुभयो ।

कार्यक्रममा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यो नगरपालिका भारतीय सीमाक्षेत्रसँगै रहेकोले लागूऔषध सेवनका साथै ओसारपसार हुन सक्ने बताउनुहुँदै यसबाट हुनसक्ने प्रभावबारे जनचेतना जगाउने कार्यमा मटिहानी नगरपालिका लाग्ने जानकारी दिनुभयो ।  

सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक नकुल पोखरेलले आ.व.२०८०–८१ मा ७१ जना र आ.ब.२०८१–८२ मा हाल सम्म २४ जना लागू औषधसहित पक्राउ परेको जानकारी दिनुहुदै खुला भारतीय सीमाका कारण लागुऔषध नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो ।

कार्यक्रममा अनुसन्धान उप–निर्देशक सुदीप अधिकारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवार, शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुनिल श्रेष्ठ, मटिहानी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीको उपस्थिति थियो ।