• ११ असोज २०८१, शुक्रबार

महासंघको कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा

blog

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्ट ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ४ गते । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिनुभएको छ । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजिनामा दिनुभएको हो । 

यसअघि निवर्तमान अध्यक्ष विपुल पोखरेलले पनि गत भदौ २४ गते निर्वाचनको मुखमै पदबाट राजिनामा दिनुभएको थियो । महासङ्घको निर्वाचन समितिले प्रकाशन गरेको पछिल्लो कार्यतालिका अनुसार आज शुक्रबारदेखि मनोनयन दर्ता गर्नुपर्ने थियो । तर सदस्यता विवाद समाधान हुन नसकेपछि कार्यवाहक अध्यक्ष विष्टले पनि आज राजिनामा पेश गर्नुभएको हो ।

राजीनामा पत्रमा कार्यवाहक विष्टले लेख्नुभएको छ, “विधानअनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएका छन् ।”

“२०८१ असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट भएका सबै कमजोरीको नैतिक जिम्मेवारी लिदैं  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको छु” राजीनामा पत्रमा उल्लेख छ ।