• ११ असोज २०८१, शुक्रबार

सिँचाइ गर्ने विद्युत मोटर जलेपछि किसान चिन्तित

blog

लहान–९ का किसान विकाउ साहले जलेको मोटर पाँच हजार तिरेर मर्मत गरेर खेततर्फ जाँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, असोज ४ गते । लहान नगरपालिका–९ का किसानहरुले धानबाली सिँचाइको लागि प्रयोग गर्ने दुई दर्जनभन्दा बढी विद्युत् मोटर जलेका छन् । 

भदौ महिनाभरि धानबालीलाई सिँचाइ आवश्यक रहेकोले लहान–९ खुटीपारीका किसानहरुले जडान गरेका २८ वटा मोटर हाइ भोल्टेजको कारण जलेको स्थानीय किसान नेपाली साहले बताउनुभयो । उहाँका अनुसार मोटर जलेपछि सिँचाइ गर्न समस्या त भयो नै मोटर मर्मत गराउनका लागि  आर्थिक रुपमा क्षति भयो ।

धानबालीलाई यतिबेला सिँचाइ गर्ने विद्युत मोटर जलेको कारण समस्या भएको अर्को किसान रामनाथ ठाकुरले भन्दै एउटा मोटर मर्मतका लागि पाँच हजार लाग्ने खर्च जुटउन किसानलाई धोधौ परिरहेको पीडा सुनाउनुभयो । उहाँले थप्नुभयो, "समस्याबारे विद्युत् प्राधिकरण शाखा लहान र लहान नगरपालिका कृषि शाखालाई जानकारी गराउँदा पनि कुनै सहयोग भएन । मुतनी खोलाको पानी बाँध बाधिदिए वा स्टेट बोरिङगको वयवस्था गरिदिए राहत हुन्थ्यो ।"

लहान नगरपालिका न्यायिक समितिका सदस्यसमेत रहनुभएका स्थानीय महेन्द्र ठाकुर भन्नुहुनछ, "किसान बाहुल्य यस वडाको समस्या जनप्रतिनिधिको रुपमा आफैं पटकपटक नगरपालिकामा उठाउँदा कुनै सुनवाइ भएको छैन । यसभन्दा पूर्व वडाधयक्ष प्रदीपकुमार चौधरी कृषि संयोजक हुँदा यस वडामा जे जति कृषिमा कार्य भयो त्यो सन्तोषजनक रह्यो । अहिलेको कृषि संयोजकले वडालाई पटक्कै हेरिरहनु भएको छैन ।’

लहानको सहरी क्षेत्रसँग जाेडिएको लहान–९ किसानहरुको बाहुल्य भएकोले यस वडाका किसानहरुले नै नगरपालिका कृषि शाखाबाट कुनै सेवा सुविधा पाउन सकिरहेको छैन भने अरु ग्रामीण भेगका १४ वटा वडाका किसानहरु कति मारमा परेको कुरा यसैबाट प्रष्ट भएको लहान–११का अर्का किसान अगुवा राजेन्द्रप्रसाद साहले बताउनुभयो । उहाँले थप्नुभयो, "दुई वर्षअघि लहान–१० खुटीखोलाका सिँचाइ नहरको नौ करोडको लागि हेडवर्क्स समेत निर्माण भैसकेको छ । नहरमा खुटी खोलाको पानी दक्षिणी भेगका दसवटा वडामा ९५० विगहामा सिँचाइ हुने कार्य अलपत्र परेको छ । सहरी क्षेत्रको नहर मर्मत गरेर किसानको खेतमा सिँचाइको लागि खुटीकाे पानी पुर्‍याउनुपर्नेमा लहान नगरपालिकाले सहरी क्षेत्रबाट जाने नहरमा ड्रेनको लागि टेण्डर गरेपछि हमी दसवटा वडाका किसानहरु आन्दोलित हुने तयारीमा छौं ।"

यता लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलवाइसँग किसानहरुले भोगिरहेको विद्युत् मोटर जल्ने समस्या र धानबालीमा लागेका पात पहेँलो हुने रोगको निदानबारे जिज्ञासा राख्दै उहाँले भन्नुभयो, "जलेको कृषि मोटर मर्मतको खर्च जुटाउनेबारे कृषि शाखामा कुनै बजेट नरहेकोले यसबारे केहि गर्न सकिँदैन । विद्युत् प्राधिकरणको लापरबाहीले भएको क्षति रोक्न नेपाल विद्युत प्राधिकरण शाखा लहानलाई भोल्टेज नियन्त्रण गर्न कुराकानी भएको छ । जहासम्म धानबालीमा देखिएको रोगको प्रकोप नियणत्रणको लागि प्राविधिक टोली खटाउन तयारी भइरहेको छ । कृषि क्षेत्रमा वर्ष बिउमा आत्मनिर्भर हुन ३८ बिघा १० कठ्ठामा बिउ उत्पादन कार्य अघि बढाइएको छ ।"