• १४ असोज २०८१, सोमबार

‘९० प्रतिशतसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ’

blog

काठमाडौँ, असोज १४ गते । विश्वभर नसर्ने रोगको भार बढ्दै गएको छ । विश्वमा हुने कुल मृत्युमध्ये क्यान्सरका कारण मृत्यु हुने दोस्रो उच्च  छ । सन् २०२२ मा विश्वभर करिब दुई करोड क्यान्सरका नयाँ बिरामी देखा परेका थिए भने ९७ लाखभन्दा बढीले ज्यान गुमाएका थिए । चिकित्सकका अनुसार ९० प्रतिशतसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ । 

विश्वव्यापीकरणसँगै तीव्र रूपमा परिवर्तन हुँदै गएको जीवनशैली (खानपान र रहनसहन) ले क्यान्सरका जोखिमका कारक तत्त्व बढ्दै गएका छन् । नेपाललगायत विभिन्न देशमा  भएका सर्वेक्षणहरूले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सरजस्ता नसर्ने रोगहरू बढेको देखाएको छ । 

नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सरका नयाँ बिरामी पत्ता लागेका थिए भने १४ हजारको मृत्यु भएको थियो । नेपालमा फोक्सो, स्तन, पाठेघरको क्यान्सर बढी देखिने चिकित्सक बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपाने ९० प्रतिशतसम्म क्यान्सरलाई रोकथाम गर्न सकिने बताउनुहुन्छ । 

 प्रणाघाती क्यान्सर १० देखि ३० प्रतिशत वंशाणुगत र शरीरको भित्री कारणले हुने गर्छ ।

उहाँका अनुसार प्रणाघाती क्यान्सर १० देखि ३० प्रतिशत वंशाणुगत र शरीरको भित्री कारणले हुने गर्छ । ७० देखि ९० प्रतिशत क्यान्सर बाहिरी कारण जस्तै: विभिन्न प्रकारका विकिरण, लिड, धूमपान र मद्यपान, अस्वस्थकर खाना, ब्याक्टेरिया, भाइरस आदिको सङ्क्रमण, हावा, पानी र  माटोमा हुने प्रदूषण, अत्यधिक मात्रामा तनाव, औषधीको दुरुपयोगले क्यान्सर हुने उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “९० प्रतिशतसम्म क्यान्सर आनीबानीका कारण हुने हुँदा यसलाई हामीले निर्मूल वा न्यूनीकरण गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्न नसक्नु भनेको क्यान्सरलाई शरीरभित्र पस्न निम्ता दिनु हो ।”

क्यान्सर रोकथाम गर्न सकिन्छ  

आवश्यकभन्दा बढी सिटी स्क्यान, एक्स-रे, पेट स्क्यान, जस्ताको विकरणले क्यान्सर हुने गर्छ । लामो समयसम्म चर्को घाममा बस्दा घामको हानिकारक विकिरणले छालाको क्यान्सर हुने सम्भावना बढ्ने डा. न्यौपाने बताउनुहुन्छ । 

उहाँका अनुसार मर्करी, लिड, हावा, पानी र माटोमा मिसिएका प्रदूषणले फोक्सो, स्तन, आन्द्राजस्ता अङ्गमा क्यान्सर हुने जोखिम हुन्छ । डा. न्यौपानेका धूमपान र मद्यपानले फोक्सो, मुख, घाँटी, पेट, पिसाब थैलीजस्ता ११ किसिमका क्यान्सर हुने अध्ययनहरूले पुष्टि गरिसकेको छ । 

मादक पदार्थको सेवनले करिब १४ प्रतिशत मानिसलाई कलेजोलगायतका अङ्गहरूको क्यान्सर हुने सम्भावना बढ्ने उहाँ बताउनुहुन्छ । अस्वस्थकर खाना जस्तै: कार्वोहाइड्रेटस् र ओमेगा ६ धेरै भएका खानाले विभिन्न किसिमका क्यान्सर निम्त्याउने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“अत्यधिक रातो मासु खानाले, तनावको कारणले गर्दा पनि क्यान्सरको जोखिम बढ्ने गर्छ ।” 

हेपाटाइटिस बी र सी भाइरसले कलेजोको क्यान्सर, एच पाइलोरीले पेटको क्यान्सर, एचपीभीले पाठेघरको, ढुसी परेको खानेकुरा तथा पेस्टीसाइडले कलेजो र पिसाब थैलीको क्यान्सर हुने अध्ययनले देखाएको छ । 

 उहाँका अनुसार केही औषधी लामो समयसम्म प्रयोग गर्नाले भविष्यमा क्यान्सर हुने जोखिम बढ्छ । उहाँ भन्नुहुन्छ, “ज्वरो आएको बेलामा  प्रयोग गरिने फेनासेटिनले मिर्गौला र पिसाब थैलीको क्यान्सर हुने जोखिम बढ्ने उहाँ बताउनुहुन्छ । ग्याटिस्ट्रारईटिसको औषधी अत्यधिक  प्रयोगले क्यान्सरको जोखिम बढाउने गर्छ ।” 

अत्यधिक पातलो प्लास्टिकले क्यान्सरको जोखिम बढाउने विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन् । क्यान्सर लाग्न नदिन समयमै धूमपान, मद्यपान त्याग्ने, सङ्क्रमण र तनावबाट टाढै रहन, जथाभावी औषधीको प्रयोग नगर्न उहाँको सुझाव छ । 

क्यान्सर लाग्नबाट बच्न स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, समय समयमा क्यान्सर भए-नभएको जाँच गर्ने र प्रदूषणबाट टाढा रहने गर्नुपर्छ ।

उहाँ भन्नुहुन्छ,“ क्यान्सर लाग्नबाट बच्न स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, समय समयमा क्यान्सर भए-नभएको जाँच गर्ने र प्रदूषणबाट टाढा रहने गर्नुपर्छ ।” 

हरियो सागपात, फलफूल र फाइबरयुक्त खानाले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार घरमा पाइने अदुवा, बेसार, लसुन, प्याज, मेथी, ग्रीनटीले क्यान्सर हुनबाट बचाउन सकिन्छ । भाइरस र सङ्क्रमणबाट हुने क्यान्सरबाट बच्च सोही रोगविरुद्धको खोप लगाउन उहाँको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।