• ७ माघ २०८१, सोमबार

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

blog

खेलअघि तयारी गर्दै नेपाली टोली । तस्बिर : क्यान

काठमाडौँ, असोज २ गते । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति ओमानसँग प्रतिस्पिर्धा गर्दैछ । 

क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । २४ तारिखसम्म सञ्चालन हुने एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । नेपालले क्यानडासँग पहिलो पटक हार खेपेको हो । नेपाललाई लिग–२ मा लय समाउन ओमानलाई हराउनु पर्ने चुनौती छ । यसअघिका भिडन्तमा नेपालभन्दा ओमान बलियो देखिएको छ ।

यसअघि दुई टोलीबिच सात पटक प्रतिस्पर्धा हुँदा ओमानले चार र नेपालले तीन खेल जितेको छ । क्यानडामा नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको छ । 

पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । 

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ ।

क्यानडापछि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजम  नेपाल र स्कटल्यान्ड छ । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।