• १ असोज २०८१, मङ्गलबार

‘वनको जग्गा पाउने लोभ त्यागौँ’

blog

सामुदायिक वनको साधारण सभा कार्यक्रम । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज १ गते । वन अतिक्रमण गरी बसेकाहरूलाई जग्गा पाउने लोभ त्याग्न डिभिजन वन कार्यालय कपिलवस्तुका डिएफओ अजित कर्णले सुझाव दिनुभएको छ ।  

आदर्श सामुदायिक वन बुद्धभुमि–१ चंघाटको १४ साधारण सभामा बोल्दै डिएफओ कर्णले भूमिहीन तथा सुकुम्वासीको नाममा वनको जग्गा कसैलाई दिन नमिल्ने सर्वोच्च अदालतको फैसला रहेकाले वन अतिक्रमण गरेको जग्गा भूमिहीन सुकुम्वासीको नाममा वितरण गर्न नमिल्ने दाबी गर्नुभयो । 

सरकारले अन्य जग्गा व्यवस्थापन गर्न सक्छ तर अदालतको फैसलाको नजिरले वन क्षेत्र दिन सक्ने अवस्था नभएको उहाँको भनाइ छ । साधारण सभामा बोल्दै बुद्धभुमि नगरपालिका–१ का अध्यक्ष तथा नगर प्रवक्ता तेजबहादुर बस्नेत ‘तिलक’ ले सामुदायिक वनमा बर्सैदेखि बस्ती बसेको बताउनुभयो । 

कार्यक्रममा समाजसेवी वीरेन्द्र मिश्र, वरिष्ठ वन अधिकृत कल्याण सापकोटा, वैज्ञानिक वन महासङ्घ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष नीलकुमार श्रेष्ठ, राजेन्द्र कुँवर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

वन समूहका अध्यक्ष धर्मराज अधिकारीले वैज्ञानिक वन व्यवस्थापनले वनको दिगो व्यवस्थापनमा सहयोग गर्ने चर्चा गर्नुभयो । वन समूहका सहसचिव सिलाकुमारी थारुले १ करोड ५४ लाखको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।