• १ असोज २०८१, मङ्गलबार

पुरुषको शव फेला

blog

राजु लामिछाने
रुकुमपश्चिम, असोज १ गते ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका ९ स्थित काउले खोलामा एक पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान खोलाको किनारमा शव भेटिएको हो ।

मुसीकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शशिराम पुनका अनुसार सोही वडा निवासी अन्दाजी ६५ वर्षीय भूपाल ओलीको शव खोलाको किनारमा फेला परेको हो ।  खोलामा शव फेला परेको सूचना आएपछि प्रहरीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष पुनका अनुसार सोमबार बेलुका उहाँ घरबाट निस्कनुभएको थियो । आज बिहान दाउरा सङ्कलनका लागि खोला किनारमा गएका स्थानीयले शव देखेका थिए । 

खोला किनारमा निर्वस्त्र अवस्थामा एक पुरुषको शव फेला परेको भन्दै स्थानीयले खबर गरेपछि घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण खोलामा बगेर मृत्यु भएको हुनसक्ने  स्थानीयको अनुमान छ । प्रहरीले भने अनुसन्धानपछि मात्र थप विवरण खुल्ने जनाएको छ ।