• १ असोज २०८१, मङ्गलबार

ह्विलचेयर पाउँदा भुलियो पीडा

blog

शिवा तामाङ

काठमाडौँ, असोज १ गते । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकानिवासी सरिता सुनारको कम्मरमुनिको भाग नचलेको करिब ११ वर्ष भयो । २८ वर्षीया सुनारलाई विवाहअघिसम्म केही समस्या थिएन । दुई छोरीको जन्मपछि धेरै ज्वरो आउने समस्या भयो । ज्वरोले थलिँदा उहाँको कम्मरमुनिको भागै नचल्ने भयो । करिब ५/६ वर्षदेखि सरिताको भाइ सरोज विकलाई पनि ज्वरो धेरै आएर अवस्था उस्तै छ । 

आमा दुर्गा विकले छोराछोरी दुवै जनामा समस्या हुँदाको पीडा भक्कानिदै सुनाउनुभयो, “कहाँ गएर मरूँझैँ भा’छ । यिनीहरू दुवैका चार जना बालबच्चा छन् । छोरीका सन्तान अलि हुर्किए पनि छोराको सानो छोरा साढे दुई वर्षको मात्र छ । बुहारी छोराछोरी र सरोजलाई छाडेर माइत बस्दै छे । यी दुई जनाको अगाडि/पछाडि लाग्दामा मेरो दिन जान्छ ।” उहाँका अनुसार सरिता र सरोज आफैँले केही गर्न सक्नुहुन्न । 

सरिताका श्रीमान् विक्रम सुनारले सरिताका ठुलो दाजु र माइला दाजुको पनि कम्मरमुनिको भाग नचल्ने समस्या देखिएको बताउनुभयो । गाउँमा ह्विलचेयरलगायत केहीको पनि सुविधा नपाएर घरको पिँढीको डिलबाट लडेर उहाँहरूको मृत्यु भएको दुःखेसो उहाँले सुनाउनुभयो । राष्ट्रिय अपाङ्ग कोषद्वारा ओम हङ गिल ह्युमन फाउन्डेसनको सहयोगमा सोमबार राजधानीमा आयोजित ह्विलचेयर वितरण समारोहमा आमा र श्रीमान्को सहयोगमा सरिता र सरोज ह्विलचेयर लिन भृकुटीमण्डप कोषको परिसर पुग्नुभयो । त्यहाँ आमा र सरिताका श्रीमान्ले उहाँहरूको पीडा सुनाउनुभयो । 

यस्तै नैकापनिवासी उमा तण्डुकार पनि पहिले तन्दुरुस्त हुनुहुन्थ्यो । तीन सन्तानलाई हुर्काउनुभयो । अलिअलि गर्दै शरीरका कुनै अङ्ग नचल्ने, ह्विलचेयरमा बस्दासमेत घाँटी ठड्याउन समस्या हुने र हातसमेत नचल्ने भयो । उहाँका श्रीमान्ले मस्कुलर डिस्ट्रोफी भन्ने समस्याले असर गरेको र बोल्नबाहेक उमाको पूरै शरीर निष्क्रिय रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय अपाङ्ग कोषका फिजियो थेरापिस्ट साजन मानन्धरले सरिता र सरोजमा देखिएको समस्या मेरुदण्डमा देखिने सङ्क्रमणको असर भएको बताउनुभयो । दुर्घटनामा परेर, सङ्क्रमण, पोलियोलगायतका कारणले हुने यसप्रकारको अपाङ्गतामा हुने यस्ता व्यक्तिलाई ह्विलचेयर जीवन चलाउने विशेष माध्यम बन्ने गरेको जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कोषद्वारा आयोजित समारोहमा सरिता, सरोज, उमालगायत ७३ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गर्नुभयो । सो अवसरमा मन्त्री पौडेलले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सहयोग गर्ने र सहयोगी सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

नेपालका लागि कोरियाली राजदूत पार्क ते योङले नेपालीलाई मायाको चिनोस्वरूप कोरियाली संस्थाको सहयोगमा दिइएको ह्विलचेयरको सहयोगले प्रयोगकर्तालाई आफ्नो दिनचर्या सहज ढङ्गले अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय अपाङ्ग कोषका अर्थोपेडिक प्राविधिक रामबहादुर थापाले कोषले नेपाली र विदेशी सङ्घ संस्थासँग सहयोग आह्वान गर्दै अपाङ्गता भएका व्यक्तिका लागि ह्विलचेयरलगायतका आवश्यक सहयोग सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो । कोषका सभापति डेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सबै किसिमका सामग्री नेपालमै उत्पादन गर्न सकिने भए पनि बजेट अभावमा सहयोग माग्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।