• १ असोज २०८१, मङ्गलबार

गोरखापत्रमा थपियो रानाथारू भाषा पृष्ठ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । गोरखापत्र दैनिकको नयाँ नेपाल बहुभाषा पृष्ठमा थप एक मातृभाषालाई समावेश गरिएको छ । गोरखापत्र संस्थानको प्रमुख प्रकाशन गोरखापत्र दैनिकलाई थप समावेशी बनाउँदै लैजाने नीति अनुरूप संस्थान व्यवस्थापनले संविधान दिवसका अवसरमा रानाथारू भाषालाई समावेश गर्ने निर्णय गरेको हो ।

संस्थान सञ्चालक समितिद्वारा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको सोमबार सम्पन्न बैठकले रानाथारू भाषालाई गोरखापत्र दैनिकमा समावेश गरी प्रकाशन गर्ने निर्णय गरेको हो । रानाथारू भाषा समावेश भएसँगै गोरखापत्र दैनिकको नयाँ नेपाल बहुभाषा पृष्ठमा प्रकाशन हुने भाषाको सङ्ख्या ४४ पुगेको छ । 

नेपालको संविधानले हरेक मातृभाषालाई संवैधानिक मान्यता प्रदान गर्दै राष्ट्रभाषाका रूपमा प्रत्याभूत गरेको बताउँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सरकारको समावेशी नीतिलाई गोरखापत्र संस्थानले कार्यान्वयन गरेको बताउनुभयो । गोरखापत्र दैनिकलाई थप समावेशी बनाउने क्रममा संविधान दिवसका अवसरमा रानाथारू भाषालाई समावेश गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । 

गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत २०६४ असोज १ गतेदेखि समावेशी बहुभाषा पृष्ठ प्रकाशन प्रारम्भ भएको हो । प्रारम्भमा छ वटा भाषामा प्रकाशन भएको थियो । अहिले गोरखापत्र दैनिकमा ४३ भाषाका सामग्री प्रकाशन हुँदै आएको छ ।